अन्तर्राष्ट्रिय

माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

माइक्रोसफ्टका विभिन्न सेवामा बिहीबार कनेक्टिभिटीसम्बन्धी समस्या देखिएको छ। विश्वभरका प्रयोगकर्ताले माइक्रोसफ्ट टिम्स, आउटलुक र कम्पनीको एआई सफ्टवेयर कोपाइलटले काम नगरेको भन्दै गुनासो गरेका छन्।

समस्या देखिएपछि कम्पनीले सेवा पुनः सञ्चालनमा ल्याउन समस्या समाधानको काम भइरहेको जनाएको छ।

माइक्रोसफ्टका अनुसार उसको पूर्वाधारको एउटा हिस्सामा आवश्यकताभन्दा बढी भार परेका कारण कनेक्टिभिटीमा समस्या आएको हो।

कम्पनीका अनुसार यो समस्या सबैभन्दा पहिले अमेरिकामा देखिएको थियो। तर यसबाट जुनसुकै क्षेत्रका प्रयोगकर्ता प्रभावित हुन सक्ने बताइएको छ।

सेवामा आएको अवरोधबारे निगरानी गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार भारतीय समयअनुसार बिहीबार राति करिब १२ बजे बेलायतमा माइक्रोसफ्टका सेवासम्बन्धी गुनासोमा अचानक वृद्धि भएको थियो।

त्यस्तै, अमेरिकामा पनि भारतीय समयअनुसार बिहीबार राति करिब ११ः४५ बजेसम्म माइक्रोसफ्ट आउटलुकमा समस्या आएको भन्दै १ लाख ३१ हजारभन्दा बढी गुनासो दर्ता भएका थिए।

प्रकाशित: २७ कार्तिक २०८३ ०८:०६ शुक्रबार