अमेरिकाको टेनेसी राज्यको जेल प्रणालीका प्रमुख फ्र्यांक स्ट्राडाले यसै महिना पदबाट राजीनामा दिने भएका छन्।
गभर्नर बिल लीले शनिबार यसको घोषणा गरेका हुन्। क्रिस्टा पाइकको सजाय कार्यान्वयन गर्ने प्रक्रिया असफल भएपछि स्ट्राडाको राजीनामा आएको हो।
पाइकलाई गत बुधबार पेन्टोबार्बिटल औषधिको दुई डोज दिइए पनि प्रक्रिया पूरा हुन सकेन। त्यसपछि उनलाई अस्पताल लगिएको थियो। उनका वकिलका अनुसार उनलाई भेन्टिलेटरमा राखिएको छ, जो अहिले बेहोस अवस्थामा छिन्। घटनापछि गभर्नर लीले थप सजाय कार्यान्वयन रोक्दै घटनाबारे स्वतन्त्र अनुसन्धानको आदेश दिएका छन्।
घटनाको अनुसन्धान गर्न पूर्व अमेरिकी वकिल एड स्ट्यान्टनलाई जिम्मेवारी दिइएको छ। स्ट्यान्टनले यसअघि सन् २०२२ मा टेनेसीमा भएको अर्को सजाय कार्यान्वयनको अनुसन्धान गरेका थिए। त्यसबेला उनले राज्यले औषधि प्रयोगसम्बन्धी आफ्नै प्रक्रियाको पूर्ण रूपमा पालना नगरेको निष्कर्ष निकालेका थिए।
स्ट्राडाले अनुसन्धान भइरहेका बेला पदबाट हट्नु ‘टेनेसियनहरूको हितमा’ रहेको बताएका छन्। उनले राज्यले स्थापित प्रक्रियाअनुसार आफ्नो जिम्मेवारी पूरा गरेको दाबी गरेका छन्।
यो पनि पढ्नुहोस्
दुई पटक औषधि दिए पनि यी महिला कैदीलाई किन सजाय दिन सकिएन ?
पाइकका वकिलहरूले भने स्ट्राडाको राजीनामा उचित भए पनि यसले पाइकलाई तत्काल कुनै सहयोग नगर्ने बताएका छन्। उनीहरूले गत बुधबारको घटनाले एक व्यक्तिभन्दा धेरै ठुलो प्रणालीगत समस्या देखाएको बताएका हुन्।
यो प्रकरण सन् १९९५ मा भएको घटनासँग जोडिएको छ। पाइक त्यतिबेला १८ वर्षकी थिइन्। उनले आफ्ना प्रेमीसँग मिलेर सहपाठी कोलिन स्लेमरलाई यातना दिएको र हत्या गरेको अभियोगमा दोषी ठहर भएकी थिइन्। अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो। त्यसपछि उनी अमेरिकामा मृत्युदण्डको सजाय पाउने सबैभन्दा कम उमेरका महिलामध्ये एक बनेकी थिइन्।
पाइकका वकिलहरूले आईभी लाइनमा समस्या भएका कारण औषधि रक्तनलीमा ठीकसँग पुग्न नसकेको दाबी गरेका छन्। उनीहरूले घटनाको पूर्ण र स्वतन्त्र अनुसन्धान हुनुपर्ने बताएका छन्।
टेनेसीमा मे महिनापछि सजाय कार्यान्वयन गर्ने प्रक्रिया असफल भएको यो दोस्रो घटना हो। मे महिनामा टोनी क्यारुथर्सको सजाय कार्यान्वयनका क्रममा पनि आईभी लाइनसम्बन्धी समस्या भएको थियो।
एउटा हातमा आईभी लाइन राखिए पनि अर्को लाइन राख्न नसकेपछि प्रक्रिया रोकिएको थियो। त्यसपछि गभर्नर लीले फेरि प्रक्रिया अघि बढाउनुअघि कम्तीमा एक वर्ष पर्खन आदेश दिएका थिए।
स्ट्राडाले जनवरी २०२३ मा टेनेसीको सुधार विभागको जिम्मेवारी सम्हालेका थिए। यसअघि उनले एरिजोनाको सुधार विभागमा काम गरेका थिए र त्यहाँ पनि सजाय कार्यान्वयनसम्बन्धी जिम्मेवारी सम्हालेका थिए।
सन् २०२४ को अन्त्यमा उनले टेनेसीले आफ्नो सजाय कार्यान्वयनसम्बन्धी प्रक्रिया परिवर्तन गर्दै पेन्टोबार्बिटल मात्र प्रयोग गर्ने घोषणा गरेका थिए।
प्रकाशित: १८ आश्विन २०८३ ०९:४० आइतबार