अन्तर्राष्ट्रिय

इरान युद्धबिच इजिप्ट पुगे राष्ट्रपति सी : मध्यपूर्वमा अमेरिकालाई चुनौती

इरान युद्धका कारण मध्यपूर्वको सुरक्षा र शक्ति सन्तुलन फेरिँदै गर्दा चिनियाँ राष्ट्रपति सी जिनपिङ तीन दिने भ्रमणका क्रममा मंगलबार इजिप्ट पुगेका छन्।

एक दशकपछि भएको उनको यो भ्रमणलाई चीनले मध्यपूर्वमा आफ्नो प्रभाव थप विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ। क्षेत्रका देशहरूले अमेरिकी सुरक्षा प्रतिबद्धतामाथि पुनर्विचार गरिरहेका बेला सीको इजिप्ट भ्रमणले चीन र अमेरिकाबिचको प्रतिस्पर्धालाई पनि नयाँ कोण दिएको छ।

कायरो अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीले औपचारिक स्वागत गरेका थिए। उनी यसअघि सांघाई सहयोग संगठनको सम्मेलनमा सहभागी हुन किर्गिस्तान पुगेका थिए। इजिप्ट भ्रमणका क्रममा सी र अल-सिसीबिच दुई देशको सम्बन्धसँगै मध्यपूर्वको सुरक्षा, इरान युद्ध र क्षेत्रीय विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

सीको भ्रमणको समयलाई विशेष महत्वका साथ हेरिएको छ। किनभने इरान युद्धका कारण होर्मुजको जलमार्ग र रेड सी आसपासको व्यापार तथा ऊर्जा आपूर्ति प्रभावित भइरहेको छ। यसको असर चीनको ऊर्जा आपूर्ति र व्यापारमा पनि परेको छ। सोही कारण इजिप्टको सुएज नहरको रणनीतिक महत्वसमेत बढ्दै छ। मध्यपूर्व र युरोपबिचको महत्त्वपूर्ण व्यापारिक मार्गका रूपमा रहेको सुएज नहर इजिप्टको नियन्त्रणमा छ।

यही कारण चीनका लागि इजिप्टसँगको सम्बन्ध आर्थिक मात्र नभई रणनीतिक रूपमा पनि महत्त्वपूर्ण छ। इजिप्टले पछिल्ला वर्षमा चीनसँग आर्थिक र सैन्य सहकार्य बढाउँदै आएको छ। चीनले इजिप्टमा उत्पादन, हरित ऊर्जा र स्याटलाइट प्रविधिसहित विभिन्न क्षेत्रमा लगानी विस्तार गरेको छ। दुवै देशले हालै संयुक्त सैन्य अभ्याससमेत गरेका छन्।

इजिप्ट लामो समयदेखि अमेरिकाको महत्त्वपूर्ण मध्यपूर्व साझेदार हो। उसले अमेरिकाबाट वार्षिक करिब १.३ अर्ब डलर बराबरको सैन्य सहायता पाउँदै आएको छ। तर पछिल्ला वर्षमा कायरोले आफ्नो रणनीतिक विकल्प फराकिलो बनाउँदै चीन, रूस र युरोपसँग पनि सम्बन्ध विस्तार गरिरहेको छ। यस्तो अवस्थामा चीनसँग बढ्दो सहकार्यलाई अमेरिकामाथिको रणनीतिक निर्भरता कम गर्ने इजिप्टको प्रयासका रूपमा पनि हेरिएको छ।

अमेरिकाले इरानसँग आर्थिक सम्बन्ध राख्ने देश तथा संस्थामाथि थप प्रतिबन्ध लगाउने चेतावनी दिइरहेका बेला सीको भ्रमण भएको हो। चीन इरानी तेलको ठुलो खरिदकर्ता हो। इरानसँगको व्यापारका कारण चीन र इजिप्ट दुवै अमेरिकी दबाबको जोखिममा पर्न सक्ने अवस्था छ। यस्तो समयमा सी र अल-सिसीबीचको भेटलाई आर्थिक सम्बन्ध जोगाउने र क्षेत्रीय अस्थिरताबाट उत्पन्न जोखिम व्यवस्थापन गर्ने दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ।

चीनले भने मध्यपूर्वमा आफूलाई अमेरिकाभन्दा फरक भूमिकामा प्रस्तुत गर्दै आएको छ। बेइजिङले सैन्य हस्तक्षेपभन्दा कूटनीति र आर्थिक सहकार्यलाई प्राथमिकता दिने बताउँदै आएको छ। सन् २०२३ मा चीनले इरान र साउदी अरेबियाबिच कूटनीतिक सम्बन्ध पुनर्स्थापना गराउन मध्यस्थता गरेको थियो। यसबाट पनि चीनले मध्यपूर्वमा आफ्नो कूटनीतिक प्रभाव विस्तार गर्न खोजेको देखिन्छ।

इजिप्टसँग चीनको आर्थिक सम्बन्ध पछिल्ला वर्षमा तीव्र रूपमा बढेको छ। चीनले इजिप्टमा १० अर्ब डलरभन्दा बढी लगानी गरिसकेको छ। राजधानी कायरोको पूर्वमा नयाँ व्यापारिक केन्द्रदेखि विद्युतीय रेलमार्ग र अन्य पूर्वाधार परियोजनासम्म चिनियाँ लगानी छ। दुई देशबिचको वार्षिक व्यापार करिब २० अर्ब डलर पुगेको छ।

यस वर्ष चीन र इजिप्टबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको छ। सीले भ्रमणअघि प्रकाशित लेखमा दुई देशबिचको सम्बन्धलाई थप गहिरो बनाउने बताएका छन्। उनले शिक्षा, पर्यटन, विज्ञान तथा प्रविधि, स्वास्थ्य, खेलकुद र पुरातत्त्वलगायत क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताएका छन्। साथै बेल्ट एन्ड रोड सहकार्यलाई अघि बढाउँदै विकास रणनीतिमा थप तालमेल गर्नुपर्नेमा जोड दिएका छन्।

यसरी हेर्दा सीको इजिप्ट भ्रमण केवल दुई देशबिचको कूटनीतिक सम्बन्धको निरन्तरता मात्र देखिँदैन। इरान युद्धपछि मध्यपूर्वमा अमेरिकी सुरक्षा प्रभावबारे प्रश्न उठिरहेका बेला चीनले आर्थिक, कूटनीतिक र सुरक्षा सहकार्य विस्तार गरेर आफ्नो उपस्थिति बलियो बनाउन खोजेको देखिन्छ।

इजिप्टसँग निकटता बढाएर चीनले अरब तथा अफ्रिकी क्षेत्रमा आफ्नो पहुँच विस्तार गर्ने अवसर पनि खोजिरहेको छ। त्यसैले सीको यो भ्रमणलाई मध्यपूर्वमा बदलिँदो शक्ति सन्तुलनबिच चीनले अमेरिकालाई दिएको रणनीतिक सन्देशका रूपमा समेत हेरिएको छ। एजेन्सी

प्रकाशित: १७ भाद्र २०८३ ०८:१५ बुधबार