अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायली संसदको वेस्ट बैंक गाभ्ने कदमले ट्रम्पको गाजा शान्ति योजनालाई खतरामा पार्न सक्ने बताएका छन्।
‘यो त्यस्तो चीज होइन जुन हामी अहिले समर्थन गर्छौं,’ उनले इजरायल प्रस्थान गर्नुअघि भने। उनी गाजाको लागि अमेरिकी योजना र युद्धविराम सम्झौतालाई बलियो बनाउने प्रयासको एक भागको रूपमा इजरायल पुगेका हुन्।
इजरायलका उग्र दक्षिणपन्थी नेताहरूले इजरायली संसद (नेसेट) मा वेस्ट बैंकसँग सम्बन्धित विधेयक पेस गरेका छन्। यो विधेयकले इजरायललाई वेस्ट बैंक गाभ्ने अधिकार दिएको छ। तर यो विधेयक अहिलेसम्म कानुन बन्न सकेको छैन। बुधबार यसले प्रारम्भिक स्वीकृति पाए पनि प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई अगाडि नबढाउन निर्देशन दिएका छन्।
प्यालेस्टिनी विदेश मन्त्रालयले इजरायली संसदको कदमको निन्दा गरेको छ।
इजरायलले १९६७ देखि वेस्ट बैंक कब्जा गरेको छ। प्यालेस्टिनीहरुले वेस्ट बैंक प्यालेस्टाइनको हिस्सा भएको बताएका छन्। गत वर्ष संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालत अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले इजरायलको कब्जालाई अवैध भएको बताएको थियो।
इजरायली प्रधानमन्त्री नेतन्याहूले पहिले वेस्ट बैंकमा रहेको भूमि इजरायललाई गाभ्ने पक्षमा बोलेका थिए, तर उनले त्यसो गर्न कुनै कदम चालेका छैनन्।
यसले इजरायलको सबैभन्दा महत्त्वपूर्ण सहयोगी, संयुक्त राज्य अमेरिका र अरब देशहरूसँगको सम्बन्धमा बिग्रन सक्छ जसले दशकौंको शत्रुता पछि इजरायलसँग सम्बन्ध कायम राखेका छन्।
इजरायलको सत्तारूढ गठबन्धनका अतिराष्ट्रवादी नेताहरूले बारम्बार इजरायललाई सिधै वेस्ट बैंकमा कब्जा गर्न माग गरेका छन्। तर, सरकार बाहिरका सांसदले भने विधेयक पेस गरेका थिए।
प्रकाशित: ६ कार्तिक २०८२ २२:५६ बिहीबार