पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानकी बहिनी अलिमा खानलाई आगामी सेप्टेम्बर २७ मा हुने विरोध प्रदर्शनअघि पक्राउ गरिएको छ।
पीटीआईका अनुसार आइतबार लाहोरबाट अलिमालाई हिरासतमा लिइएको हो। लाहोरका उपायुक्तको कार्यालयले उनलाई ३० दिनसम्म हिरासतमा राख्न आदेश दिएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। प्रहरीले उनलाई लाहोरस्थित कोट लखपत जेल लगिएको पुष्टि गरेको छ।
आइतबारको आदेशमा अलिमा र मुहम्मद अमीरलाई सामाजिक सञ्जाल तथा सार्वजनिक सभामार्फत पीटीआई समर्थकलाई परिचालन गरेको आरोप लगाइएको छ। आदेशमा सन् २०२३ मे ९ मा इमरान पक्राउ परेपछि भएको प्रदर्शनमा उनीहरू संलग्न रहेको पनि उल्लेख छ।
आदेशमा उनीहरूले सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पार्न सक्ने गतिविधि गरेको आरोप लगाइएको छ। साथै, उनीहरूविरुद्ध विभिन्न मुद्दा रहेको र लाहोरमा कानुन व्यवस्था कायम राख्न एमपीओअन्तर्गत ३० दिन हिरासतमा राख्न सिफारिस गरिएको उल्लेख छ।
अलिमाका छोरा शाहरेज खानले सामाजिक सञ्जाल एक्समार्फत सरकारसँग आमाको अवस्थाबारे तत्काल जानकारी दिन माग गरेका छन्। ‘हाम्रो परिवारसँग उनको अवस्थाबारे कुनै सम्पर्क वा खबर छैन। हामी सरकारलाई उनको ठेगाना तत्काल सार्वजनिक गर्न र सुरक्षित रूपमा फिर्ता ल्याउन माग गर्छौं,’ उनले लेखेका छन्।
अलिमाकी बहिनी नोरिन नियाजीले भने उनलाई घरबाट निस्किएपछि चालकसहित नियन्त्रणमा लिइएको दाबी गरेकी छन्। उनका अनुसार पछि अलिमाको गाडी प्रहरी चौकीमा रहेको जानकारी परिवारले पाएको थियो। उनका वकिलले पनि सुरुमा पक्राउको आधिकारिक पुष्टि हुन बाँकी रहेको बताएका थिए।
पीटीआईले अलिमाको पक्राउलाई सेप्टेम्बर २७ मा हुने देशव्यापी विरोध प्रदर्शनसँग जोडेको छ। पार्टीले इमरान खानलाई जेलबाट रिहा गर्न र संविधानको सर्वोच्चताको माग गर्दै इस्लामाबादतर्फ मार्च गर्ने घोषणा गरेको छ।
प्रदर्शनअघि पञ्जाबमा पीटीआईका दर्जनौँ कार्यकर्तालाई पनि एमपीओअन्तर्गत निवारक हिरासतमा राख्ने आदेश जारी भएको छ। इस्लामाबादमा पनि प्रदर्शन रोक्न सरकारले तयारी थालेको छ। राजधानी प्रवेश गर्ने स्थानमा कन्टेनर राखिएको र सुरक्षा व्यवस्था कडा पारिएको छ।
पीटीआई अध्यक्ष ब्यारिस्टर गोहर अली खानले पार्टीको प्रदर्शन शान्तिपूर्ण हुने बताएका छन्। उनले अलिमाको पक्राउको आलोचना गर्दै तत्काल रिहा गर्न माग गरेका छन्। उनले पार्टीको उद्देश्य संवैधानिक र राजनीतिक माग पूरा गर्न शान्तिपूर्ण रूपमा संघर्ष गर्नु रहेको बताएका छन्।
इमरान खान सन् २०२३ देखि जेलमा छन्। उनीविरुद्ध विभिन्न मुद्दा चलिरहेका छन् र उनले ती आरोप राजनीतिक रूपमा प्रेरित भएको बताउँदै आएका छन्। सेप्टेम्बर २७ को प्रदर्शनअघि पीटीआईका थप कार्यकर्तामाथि कारबाही भइरहेको रिपोर्ट सार्वजनिक भएका छन्।
प्रकाशित: ५ आश्विन २०८३ ०७:५६ सोमबार