अन्तर्राष्ट्रिय

पूर्वी जापानमा ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प : टोकियोसहितका क्षेत्र प्रभावित, पाँच जना घाइते

आइतबार बिहान पूर्वी जापानमा ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

यस भूकम्पका कारण राजधानी टोकियोलगायतका क्षेत्रमा यातायात सेवा प्रभावित हुनुका साथै कम्तीमा पाँच जना घाइते भएका छन्। तर यसबाट सुनामीको कुनै खतरा नरहेको अधिकारीहरूले बताएका छन्। जापान मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समय अनुसार बिहान २:०० बजे गएको उक्त भूकम्प दक्षिणी इबाराकी प्रान्तमा ७० किलोमिटर गहिराइमा केन्द्रित थियो। संयुक्त राज्य भूगर्भ सर्वेक्षणले यसको परिमाण ५.८ रेक्टर स्केल मापन गरेको छ।

अग्नि तथा प्रकोप व्यवस्थापन एजेन्सीका अनुसार टोकियोको उत्तरपूर्वमा पर्ने इबाराकी, चिबा र सैतामा प्रान्तमा कम्तीमा पाँच जना घाइते भएका छन्। टोकियोको उत्तरमा रहेको साइतामामा ७० वर्षका एक युवक र एक महिलासहित धेरै नागरिकहरू घाइते भएको स्थानीय अग्निशमन विभागले जनाएको छ। एजेन्सीले थप व्यक्तिहरू घाइते भएको हुन सक्ने र विवरणहरूको अनुसन्धान भइरहेको बताएको छ।

भूकम्पका कारण टोकियो र नारिता विमानस्थलतर्फ जाने एक्सप्रेस रेलहरू तथा उत्तरपूर्वी क्षेत्रका केही स्थानीय रेल सेवाहरूमा ढिलाइ भएको थियो। यद्यपि, शिन्कानसेन बुलेट रेलहरू भने सामान्य रूपमा चलिरहेको सञ्चालक पूर्वी जापान राईवे कम्पनीले जनाएको छ। सम्भावित क्षतिको हद मूल्यांकन गर्न सरकारले एक कार्यदल गठन गरेको प्रधानमन्त्री साने ताकाइचीले ‘एक्स’ मार्फत बताएकी छन्।

भूकम्प आउनासाथ मोबाइल फोनमा आपतकालीन चेतावनी जारी भएको थियो। टोकियोमा पनि यसको ठुलो धक्का महसुस गरिएको थियो। टोकियोको कोटो वार्डमा भूमिगत पानीको मुख्य पाइप फुटेर सडकमा पानी बगेको छ। यो क्षति भूकम्पकै कारण हो वा होइन भन्ने बारेमा महानगरीय अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। त्यस्तै, टोकियोमा करिब ४६० घरहरूमा केही समयका लागि बिजुली आपूर्ति बन्द भए पनि आइतबार बिहानसम्ममा पुनर्स्थापित भइसकेको टेप्को पावर ग्रिडले जनाएको छ।

इबाराकी प्रान्तमा रहेको टोकाई नम्बर २ आणविक ऊर्जा केन्द्र, प्रकोपग्रस्त फुकुशिमा दाइची र नजिकैको फुकुशिमा दैनी आणविक केन्द्रलगायतका दर्जनभन्दा बढी आणविक केन्द्रहरूमा कुनै पनि प्रकारको असामान्यता फेला नपरेको आणविक नियमन प्राधिकरण र सम्बन्धित सञ्चालकहरूले जानकारी दिएका छन्।

प्रधानमन्त्री ताकाइचीले सामाजिक सञ्जालमार्फत ‘भूकम्पबाट भएको क्षतिको विवरण संकलन गर्न र जनतालाई समयमै सही सूचना उपलब्ध गराउनु पर्ने’ भन्दै अधिकारीहरूलाई निर्देशन दिएकी छन्।

मौसम विभागले आगामी साता, विशेष गरी आगामी दुईदेखि तीन दिनसम्म ५ भन्दा कम म्याग्निच्युडका साना भूकम्पहरू जाने सम्भावना रहेकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। यसअघि गत महिना जापानको दक्षिणी टापु क्युशुको कुमामोटो क्षेत्रमा गएको ७.१ म्याग्निच्युडको भूकम्पमा ठुलो जनधनको क्षति भएको थियो।

प्रकाशित: ७ भाद्र २०८३ ०६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App