अन्तर्राष्ट्रिय

कामको बोझबाट बच्न बेपत्ता व्यक्तिको खोजी बिचमै रोक्ने प्रहरी : चार जना जिम्मेवारीबाट हटाइए

दक्षिण कोरियाको जेजु टापुमा एक प्रहरी अधिकारीले कामको बोझबाट बच्न धेरै बेपत्ता व्यक्तिको खोजी समयअघि नै रोकेको स्वीकार गरेका छन्।

जेजु प्रान्तीय प्रहरीले मंगलबार ती अधिकारीले फाइल खुला राख्दा खोजी जारी राख्नुपर्ने र थप कामको बोझ हुने भएकाले बेपत्ता व्यक्तिको खोजी समयअघि नै रोक्ने गरेको बताएका हुन्। स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकारीले कामको बोझ कम गर्न यस्तो गरेको स्वीकार गरेका छन्।

यो घटना ३७ वर्षीया जाङ मी-रानको बेपत्ता प्रकरणपछि बाहिर आएको हो। उनको ठेगाना पुष्टि नगरी खोजी रोकेको आरोप लागेका अधिकारीले आफूले उनलाई सम्पर्क गरेको र उनी सुरक्षित रहेको झुटो जानकारी दिएको अनुसन्धानमा खुलेको थियो। पछि जाङको शव भेटिएको थियो।

जाङको शव भेटिएपछि प्रहरीले उनको खोजीमा लापरबाही गरेको आरोपमा सम्बन्धित प्रहरी कार्यालयका चार वरिष्ठ अधिकारीलाई जिम्मेवारीबाट हटाएको थियो। उनीहरूमाथि अनुसन्धान भइरहेको छ।

ती अधिकारीमाथि यसअघि अर्को बेपत्ता व्यक्तिको खोजी पनि समयअघि रोकेको आरोप लागेको थियो। ती ६० वर्ष आसपासका पुरुष पछि मृत अवस्थामा फेला परेका थिए।

घटनापछि प्रहरीको काम गर्ने तरिका र बेपत्ता व्यक्तिको खोजी प्रणालीमाथि प्रश्न उठेको छ। दक्षिण कोरियाली प्रहरीले ती अधिकारीले सम्हालेका २९८ वटा केस पुनः जाँच गरिरहेको छ।

प्रकाशित: १६ भाद्र २०८३ ०९:२९ मंगलबार