विश्वका कुनै पनि देशमा समाजमा शान्ति सुरक्षाको जिम्मेवारी प्रहरीको काँधमा हुन्छ। तर के हुन्छ जब सुरक्षाको जिम्मेवारी बोकेका प्रहरी नै आपराधिक कार्यमा संलग्न भएको कुरा सार्वजनिक हुन्छ ?
यस्तै रोचक घटना मलेसियाको केदाहमा देखिएको छ। त्यहाँ प्रहरीको पोसाक लगाएर लुटपाट मच्चाउने तीन प्रहरीसहित छ जना पक्राउ परेका छन्। राज्य प्रहरी प्रमुख अदजली अबु शाहले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार पक्राउ परेका व्यक्तिहरू स्थानीय समय अनुसार जुन २७ र जुलाई १ मा भएका छुट्टाछुट्टै डकैतीका घटनामा संलग्न थिए।
पहिलो घटना स्थानीय समय अनुसार जुन २७ को रात १२:२० बजे कोडियाङको पडाङ सेरा क्षेत्रमा भएको थियो। उक्त स्थानमा प्रहरीको पोशाक लगाएका पाँच जनाले आफूलाई प्रहरी बताउँदै एक घरमा प्रवेश गरेका थिए। घरमा रहेका छ जना विदेशी नागरिकलाई डर देखाई उनीहरूको मोबाइल फोन र एक हजार ७५० रिंगिट नगद लुटेर ती व्यक्तिहरू भागेका थिए। स्थानीय स्वयंसेवक गस्ती टोलीले शंकास्पद व्यवहार देखेपछि उनीहरूलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको हो। पक्राउ परेका पाँचमध्ये दुई जना पेर्लिसस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी भएको खुलेको छ। अन्य तीन जना सर्वसाधारण हुन्। तीमध्ये एक जनासँग विगतमा लागूऔषध र आपराधिक रेकर्ड रहेको अनुसन्धानबाट खुलेको छ।
दोस्रो घटना जुलाई १ मा अलोर स्टारको जालान लंगरमा भएको थियो। सो घटनामा केदाह प्रहरी मुख्यालयमा कार्यरत २६ वर्षीय एक प्रहरी जवान संलग्न रहेको पाइएको छ। उनले छ जनाको रोहिंग्या परिवारलाई रोकेर शरणार्थी कागजात मागेका थिए। त्यसपछि उनले एक पुरुषको मोबाइल फोन खोसे र ती पीडितकी श्रीमतीको कानबाट सुनको झुम्का पनि लुटे। पछि उनले पीडितको शरणार्थी कार्ड र मोबाइल फोन फिर्ता गरेर मोटरसाइकलमा भागेका थिए। उनलाई जुलाई २ मा प्रहरीले पक्राउ गरेको हो। यस क्रममा लुटपाटमा प्रयोग भएका सामग्रीहरू पनि बरामद गरिएको छ।
प्रहरी प्रमुख अदजलीका अनुसार पक्राउ परेका संदिग्धहरू अन्य डकैतीका घटनामा पनि संलग्न रहेको देखिएको छ। अहिले यी सबै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: ३१ असार २०८३ १३:५१ बुधबार