अन्तर्राष्ट्रिय

अमेरिकामा बस्ती नजिकै खस्यो विमान, सवार सबैको मृ`त्यु

अमेरिकाको फ्लोरिडामा नौ जना सवार निजी विमान दुर्घटनाग्रस्त हुँदा विमानमा रहेका सबैको मृत्यु भएको छ।

स्थानीय समयअनुसार आइतबार दक्षिण फ्लोरिडाको आवासीय क्षेत्र नजिकै खसेको विमान सडकमा ठोक्किएपछि ठुलो आगो लागेको थियो।

अमेरिकी यातायात सचिव शन डफीले लियरजेट घटनालाई 'अत्यन्त दुःखद दुर्घटना' भन्दै लियरजेट ६० नामको विमान दिउँसो १२ः५० बजे पाम बिच काउन्टीमा दुर्घटनाग्रस्त भएको बताए। 

फ्लोरिडाका गभर्नर रोन डेसान्टिसका अनुसार विमान बस्ती नजिकै खसे पनि जमिनमा रहेका मानिस घाइते भएको वा मृत्यु भएको तत्काल कुनै जानकारी प्राप्त भएको छैन। दुर्घटनापछि घटनास्थलमा बाक्लो कालो धुवाँ फैलिएको थियो भने सडकमा ठुलो खाल्डो परेको थियो।

अमेरिकाको टेक्ससस्थित अस्टिन विमानस्थलबाट बहामासतर्फ उडेको उक्त निजी विमान दुर्घटनामा पर्नुको कारण खुलेको छैन। उडानका क्रममा चालकले हावाको तीव्र उतारचढाव, वर्षा र विमानमा बरफ जमेको जानकारी दिएका थिए।

केही समयपछि विमान तीव्र गतिमा तल झर्न थालेको थियो। हवाई आवागमन नियन्त्रण कक्षको रेकर्डअनुसार विमान प्रतिमिनेट १० हजारदेखि ३० हजार फिटसम्मको गतिमा तल झरेको थियो। चालकले आपत्कालीन अवस्थाको घोषणा गर्दै सहयोग मागेका थिए। उनले रेडियोमार्फत 'हामी जमिनमा ठोक्किनेछौँ' भनेका थिए।

दुर्घटनाको अनुसन्धान गर्न संघीय उड्डयन प्रशासनले राष्ट्रिय यातायात सुरक्षा बोर्डलाई सहयोग गर्न टोली पठाएको छ। दुर्घटना फ्लोरिडाको ग्रिनएकर्स सहरमा भएको हो। घटनापछि अधिकारीहरूले नजिकैको मोबाइल घर बस्तीबाट करिब ६०० जनालाई सुरक्षित स्थानमा सारेका छन्। अनुसन्धान जारी रहेकाले घटनास्थल आसपासका सडक बन्द गरिएको छ।

प्रकाशित: १६ कार्तिक २०८३ ०६:२० सोमबार