अन्तर्राष्ट्रिय

१८१ जना यात्रु सवार विमान उडान भरेलगत्तै चरासँग ठोक्कियो, इन्जिनमा देखियो आगो

अमेरिका, दक्षिण क्यारोलिनाको मर्टल बीचबाट उडान भर्ने क्रममा अमेरिकी एयरलाइन्सको बोइङ ७३७ विमान चरासँग ठोक्किएको छ।

यसका कारण विमानको इन्जिनबाट आगो निस्कियो र यसलाई तुरुन्तै फर्काएर आपतकालीन अवतरण गरिएको थियो। 

‘मेडे, मेडे, मेडे। हाम्रो यहाँ इन्जिनमा समस्या छ,’ लाइभएटीसी नेटबाट रेकर्ड गरिएको आवाजका आधारमा पाइलटले उडान भरेलगत्तै जानकारी दिए।

अमेरिकी उडान १७६० मा १८१ जना यात्रु सवार थिए। पाइलटले एयर ट्राफिक कन्ट्रोललाई बताए अनुसार यो विमान उत्तरी क्यारोलिनाको चार्लोटतर्फ जाँदै थियो।

‘मैले विमानले चराहरूमा ठक्कर दिएको देखेँ, यो कम्तीमा बायाँतर्फको इन्जिनमा परेको जस्तो देखिन्थ्यो,’ आकाशमै चरा ठोक्किएको देख्ने अर्का पाइलटले रेडियोमा भने।

सीएनएनका अनुसार प्याट्रिक गोटवाल्ट यसै उडानका यात्रु थिए। उनले इन्जिनबाट आगो निस्किरहेको र विमान पानीमाथि उडिरहेको दृश्य भिडियोमा कैद गरेका थिए।

यात्रु लिन्डसे म्याकीले आफू समुद्र तटमा हुँदा निकै ठुलो आवाज सुनेको र विमानको बायाँ पखेटाबाट सुन्तला रंगको चमक निस्किएको देखेको बताइन्।

विमानले आकाशमै फन्को मार्दै विमानस्थल फर्कने तयारी गर्दा र आपतकालीन उद्धार टोली तयार हुँदा, कर्मचारीहरूले धावनमार्गमा चराका अवशेषहरू फेला पारेका थिए।

‘हामीसँग यहाँ धेरै चराका अवशेष छन्। हामी सकेसम्म ठुला टुक्राहरू संकलन गर्छौं,’ उनीहरूले रेडियोमा कुरा गर्दै भने।

विमानसँग ठोक्किएर संकलन गरिएका ती चराका अवशेषहरूलाई वाशिंगटन डिसीस्थित स्मिथसोनियन इन्स्टिच्युसनको प्रयोगशालामा पठाइन्छ। त्यहाँ कुन जातको चरा हो भनेर छुट्याउन अनुसन्धान गरिन्छ। यस्ता तथ्यांकले भविष्यमा विमानमा चरा ठोक्किने घटना रोक्न ठुलो सहयोग पुर्‍याउँछ।

संघीय उड्डयन प्रशासन (एफएए) को तथ्यांक अनुसार सन् २०२५ मा मात्रै अमेरिकामा २४ हजारभन्दा बढी चरा तथा वन्यजन्तु विमानसँग ठोक्किएका घटना भएका थिए।

घटनापछि चरा ठोक्किएको उक्त विमान सुरक्षित रूपमा मर्टल बीच विमानस्थलमै अवतरण भयो।

‘विमान सुरक्षित अवतरण भएको छ र मर्मत तथा जाँचका लागि अहिले उडान सेवाबाट हटाइएको छ,’ अमेरिकन एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो टोलीले यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाउँदैछ।’

उडान दलले उडानकै क्रममा चरा ठोक्किएको खबर गरेको र यस विषयमा एफएएले थप अनुसन्धान गर्ने जनाएको छ।

प्रकाशित: २६ श्रावण २०८३ १३:५० मंगलबार