अन्तर्राष्ट्रिय

बैंकिङ संकटपछि पाराग्वेका राष्ट्रपतिले दिए राजीनामा

बैंकिङ संकटमा करिब ३० लाख निक्षेपकर्ताको बचत रकम रोकिएपछि चर्किएको जनआक्रोश र महाभियोगको दबाबबीच पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले राजीनामा दिएका छन्।

राजीनामा स्वीकृत नगरेकाले उनी पदमै रहेका छन् भने महाभियोग प्रक्रिया अघि बढाइएको छ।

पाराग्वेको केन्द्रीय बैंकले गम्भीर पुँजी अभाव देखिएपछि पेनासँग सम्बन्धित युएनो बैंक नियन्त्रणमा लिएको थियो।

त्यसपछि पेन्सनभोगीसहित लाखौँ निक्षेपकर्ता आफ्नो रकम निकाल्नबाट वञ्चित भएका थिए।

घटनापछि राजधानी असुनसियोनमा हजारौँ नागरिकले संसद् भवनबाहिर प्रदर्शन गर्दै रकम फिर्ता गर्न माग गरेका छन्।

यसअघि प्रहरीसँग भएको झडपमा अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरिएको थियो।

बैंकमा पेनाको स्वार्थको द्वन्द्व र पदको दुरुपयोग भएको आरोपमा सांसदहरूले उनीविरुद्ध सर्वसम्मतिले महाभियोग प्रक्रिया अघि बढाएका हुन्।

राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत जनतासँग माफी माग्दै निक्षेपकर्ताको बचत सुरक्षित राख्नु आफ्नो प्राथमिकता भएको बताएका छन्।

विवाद समाधानका लागि केन्द्रीय बैङ्कका अध्यक्ष कार्लोस कार्भालोको राजीनामा र निक्षेप फिर्ताका लागि पाँच दिनको समयसीमा तोकिए पनि जनआक्रोश मत्थर हुन सकेन।

संसद्ले शुक्रबारदेखि महाभियोग सुनुवाइ गर्ने तयारी गरेको छ। राष्ट्रपति पद रिक्त भए उपराष्ट्रपति पेड्रो एलियानाले नेतृत्व सम्हाल्नेछन्।

प्रकाशित: २० कार्तिक २०८३ १५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App