अन्तर्राष्ट्रिय

भारतलाई पाकिस्तानको चेतावनी : पानी रोक्ने प्रयास ‘यु*द्धको कार्य’

फाइल तस्बिर : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतले पाकिस्तानको हिस्साको पानी रोक्ने, अवरोध गर्ने वा मोड्ने कुनै पनि प्रयासलाई ‘युद्धको कार्य’ मानिने बताएका छन्।

शुक्रबार न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै शरीफले सिन्धु नदी प्रणालीको पानी पाकिस्तानका लागि मात्र नभई सम्पूर्ण क्षेत्रका लागि महत्त्वपूर्ण रहेको बताए। उनले पानीलाई राजनीतिक वा सैन्य दबाबका लागि प्रयोग गर्न नहुने धारणा राखेका हुन्। 

उनले भारतले सिन्धु जल सन्धि स्थगित गर्ने निर्णयको कुनै कानुनी आधार नभएको दाबी गरे। सन्धिसम्बन्धी भारतका दाबी र गतिविधिलाई संयुक्त राष्ट्रसंघका विज्ञ तथा स्थायी मध्यस्थता अदालतले अस्वीकार गरेको पनि उनले बताए।

‘पानीलाई कहिल्यै हतियारका रूपमा प्रयोग गर्नु हुँदैन। नदीहरूले देशलाई जोड्नुपर्छ, विभाजित गर्नु हुँदैन,’ शरीफले भने।

सिन्धु जल सन्धि भारत र पाकिस्तानबिच नदीको पानी बाँडफाँटसम्बन्धी सम्झौता हो। सन् १९६० मा भएको यो सन्धिअन्तर्गत दुवै देशले सिन्धु नदी प्रणालीका नदीको पानी प्रयोग गर्दै आएका छन्।

शरीफले दक्षिण एसियामा फेरि तनावको अवस्था आउन नदिन कश्मीर विवादको निष्पक्ष समाधान आवश्यक रहेको बताए। पाकिस्तानले कश्मीरी जनताको आत्मनिर्णयको अधिकारका लागि आफ्नो समर्थन जारी राख्ने पनि उनले बताए।

उनले सन् २०२५ मा भारत र पाकिस्तानबिच भएको तनाव तथा त्यसपछि भएको युद्धविरामको प्रसंग पनि उठाएका थिए। सो अवसरमा शरीफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थताले दुई देशबिच युद्धविराम गराउन भूमिका खेलेको भन्दै त्यसको प्रशंसा गरे।

उनले मध्यपूर्वको तनाव, अफगानिस्तानबाट हुने आतंकवादी गतिविधि र प्यालेस्टाइनको अवस्थाबारे पनि धारणा राखेका थिए। उनले क्षेत्रीय विवाद समाधानका लागि संवाद र कूटनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

‘हामीले टकरावको सट्टा संवाद, जबरजस्तीको सट्टा सहयोग र युद्धको सट्टा शान्ति रोजेका छौँ,’ उनले भने।

प्रकाशित: १० आश्विन २०८३ १३:३१ शनिबार