पाकिस्तानका गृहमन्त्री मोहसिन नकभीले पछिल्ला दुई आत्मघाती आक्रमणमा संलग्न दुवै आक्रमणकारी अफगान नागरिक भएको बताएका छन्। बिहीबार संसदमा सम्बोधन गर्दै नकभीले उक्त जानकारी दिएका हुन्।
बुधबार इस्लामाबाद जिल्ला अदालतको मुख्य प्रवेशद्वारमा भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने ३० भन्दा बढी व्यक्ति घाइते भएका थिए। घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर छ।
यस्तै पञ्जाब प्रान्तको रावलपिन्डीस्थित आतंकवाद विरोधी विभागका अनुसार विस्फोटसँग सम्बन्धित सात जना शंकास्पद व्यक्ति पक्राउ परेका छन्। ती व्यक्तिहरू फौजी कॉलोनी र धोके कश्मीरियन क्षेत्रबाट पक्राउ परेका हुन्। साथै, खैबर पख्तूनख्वा प्रान्तमा पनि छापा मारिएको बताइएको छ।
यसअघि सोमबार दक्षिण वाजिरिस्तानस्थित क्याडेट कलेजमा अर्को आत्मघाती आक्रमण भएको थियो। उक्त आक्रमणमा विस्फोटक पदार्थले भरिएको सवारीसाधन मुख्य गेटमा ठोक्किएपछि ठूलो विस्फोट भएको थियो। दुई आक्रमणकारी गेटमै मारिएका थिए भने तीन जना कलेज परिसरमा प्रवेश गर्न सफल भएका थिए।
हाल पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ। पाकिस्तानले अफगान भूमिबाट आतंककारीहरूले आक्रमण गर्ने आरोप लगाउँदै आएको छ भने काबुलले ती आरोप अस्वीकार गरेको छ।
गत महिनामा सीमा क्षेत्रमा भएका भिडन्तमा दुवै देशका सैनिक र सर्वसाधारणको मृत्यु भएको थियो।
यसैबीच, पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले हालैका आक्रमणपछि पाकिस्तानले अफगान भूमिमा हवाई कारबाही गर्न सक्ने चेतावनी दिएका छन्। उनले भने, “आज इस्लामाबाद अदालतमा भएको आत्मघाती आक्रमणले यो युद्ध केवल सिमानामा सीमित छैन भन्ने प्रमाणित गरेको छ।”
प्रकाशित: २७ कार्तिक २०८२ १७:५७ बिहीबार