अन्तर्राष्ट्रिय

इन्धन निर्भरता घटाउने योजनामा पाकिस्तान, २०३५ सम्म ९० प्रतिशत स्वच्छ ऊर्जाको लक्ष्य

पाकिस्तानले सन् २०३५ सम्ममा आफ्नो राष्ट्रिय ऊर्जा मिश्रणमा स्वच्छ विद्युत्को हिस्सा ९० प्रतिशत पुर्याउने लक्ष्य राखेको ऊर्जा विभागका मन्त्री सरदार ओवैस अहमद खान लेघारीले बताएका छन्।

मङ्गलबार इस्लामाबादमा आयोजित एक सम्मेलनलाई सम्बोधन गर्दै उनले ऊर्जा सुरक्षा सुदृढ गर्न सरकारले ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीइएसएस), स्वदेशी उत्पादन र नियामकीय सुधारमा ध्यान केन्द्रित गरिरहेको बताए।  

मन्त्री लेघारीका अनुसार हाल जलविद्युत्, आणविक, वायु र सौर्य ऊर्जालगायत स्वच्छ स्रोतले पाकिस्तानको कुल विद्युत् उत्पादनमा करिब ५५ प्रतिशत हिस्सा ओगटेको छ। उपभोक्ता–नेतृत्वको लगानीमार्फत करिब ३८ गिगावाट क्षमताको सौर्य ऊर्जा प्रणालीसमेत जडान भइसकेको उनले जानकारी दिए।

उनले दिउँसो उत्पादन हुने अतिरिक्त सौर्य ऊर्जालाई उच्च माग हुने समयमा प्रयोग गर्न तथा आयातित इन्धनमाथिको निर्भरता घटाउन ब्याट्री ऊर्जा भण्डारण प्रणाली आवश्यक रहेको बताए।

मन्त्रीले प्राथमिकताका परियोजना पहिचान गर्न र राष्ट्रिय ऊर्जा भण्डारण नीति तयार गर्न बीइएसएससम्बन्धी राष्ट्रिय निर्देशक समिति तथा प्राविधिक र नियामकीय कार्यदल गठन गरिने जानकारी दिए।

सरकारले स्वदेशी ब्याट्री उत्पादनलाई प्रोत्साहन गर्ने नीति अघि बढाइरहेको र वितरण कम्पनीसँगको सहकार्यमा परीक्षणका रूपमा ऊर्जा भण्डारण परियोजना सञ्चालन गर्न स्वीकृति दिइसकेको उनले बताए। सिन्ह्वा

प्रकाशित: २१ श्रावण २०८३ ०७:११ बिहीबार