अन्तर्राष्ट्रिय

सिंगापुरमा प्रधानमन्त्रीको तलब ३६ लाख डलर पुर्‍याएपछि विपक्षीको विरोध

तस्बिर : सीएनए

सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङको वार्षिक तलब प्याकेज बढेर ३६ लाख सिंगापुर डलर (२८ लाख ५० हजार अमेरिकी डलर) पुगेको छ।

१५ वर्षदेखि अपरिवर्तित रहेको मन्त्रीहरूको तलब समायोजन गर्ने निर्णयसँगै प्रधानमन्त्रीको तलब पनि बढेको हो। वोङले मंगलबार संसदमा मन्त्रीहरूको तलब अक्टोबर १५ देखि समायोजन हुने बताएका छन्।

हाल प्रधानमन्त्रीको वार्षिक तलब प्याकेज २२ लाख सिंगापुर डलर छ। नयाँ प्याकेज स्विस राष्ट्रपतिको तलबभन्दा चार गुणा र अमेरिकी राष्ट्रपतिको चार लाख अमेरिकी डलर तलबभन्दा सात गुणाभन्दा बढी हुनेछ।

वोङले आफू प्रधानमन्त्री रहिरहे पाँच वर्षसम्म प्राप्त हुने तलब वृद्धि परोपकारमा दान गर्ने बताएका छन्।

सिंगापुरमा मन्त्रीहरूको तलब निजी क्षेत्रका उच्च आम्दानीसँग जोडिएको छ। प्रवेश तहका मन्त्रीको तलब ११ लाखबाट बढेर १८ लाख सिंगापुर डलर पुग्ने आधार तय गरिएको छ भने प्रधानमन्त्रीले त्यसको दोब्बर पाउने व्यवस्था गरिएको छ। सरकारले प्रतिस्पर्धी तलबले निजी क्षेत्रमा रहेका सक्षम व्यक्तिलाई राजनीतिमा आकर्षित गर्न सहयोग गर्ने बताएको छ।

तर विपक्षी प्रोग्रेस सिंगापुर पार्टी (पीएसपी), सिंगापुर डेमोक्रेटिक पार्टी (एसडीपी) र रेड डट युनाइटेड (आरडीयू) ले तलब वृद्धि गर्ने निर्णयको विरोध गरेका छन्। उनीहरूले सार्वजनिक सेवा मुख्य रूपमा तलबबाट प्रेरित हुनु नहुने बताएका हुन्।

पीएसपीले राजनीतिक नेतृत्वका लागि उच्च तलबलाई मुख्य आधार बनाउन नहुने बताएको छ। एसडीपीका उपाध्यक्ष ब्रायन लिमले बढ्दो महँगी, रोजगारीको असुरक्षा र आर्थिक अनिश्चितताका बेला मन्त्रीहरूको तलब बढाउनु असंवेदनशील भएको बताएका छन्।

आरडीयूका महासचिव रवि फिलेमोनले सार्वजनिक सेवामा केही त्याग हुनुपर्ने बताएका छन्। उनले आफ्नो पार्टी सरकारमा भए मन्त्रीहरूको तलब प्याकेज आधाले घटाउने बताएका छन्।

सरकारले भने निजी क्षेत्र र राजनीतिक क्षेत्रको तलबबिचको अन्तरका कारण सक्षम व्यक्तिलाई राजनीतिमा ल्याउन कठिन हुने भन्दै तलब समायोजन आवश्यक रहेको बताएको छ।

‘राजनीतिक तलब एउटा कठिन र भावनात्मक विषय हो। यसमा संलग्न रकम धेरैजसो नागरिकले कमाउनेभन्दा बढी छ,’ वोङले भने, ‘तर हामी खुला प्रणाली चलाउँछौँ र मन्त्रीहरूको तलबबारे पारदर्शी हुनमा विश्वास गर्छौँ।’

मन्त्रीहरूले अक्टोबर १५ देखि आफ्नो कार्यसम्पादन र पछिल्लो पटक तलब समायोजन भएको समयका आधारमा एक पटक अधिकतम नौ प्रतिशतसम्म तलब वृद्धि पाउनेछन्।

जानकारी अनुसार नयाँ तलब संरचना तय भए पनि सबै मन्त्रीको तलब तत्कालै १८ लाख सिंगापुर डलर पुग्ने भने होइन। एजेन्सीको सहयोगमा

प्रकाशित: २५ भाद्र २०८३ १२:३६ बिहीबार