अन्तर्राष्ट्रिय

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईको कृत्रिम बौद्धिकता (एआई) प्रणालीले सरकारी स्वास्थ्यसम्बन्धी पोर्टलमा अनधिकृत पहुँच बनाएको घटनाबारे सरकारलाई जानकारी गराउन कम्पनीले ढिलाइ गरेको भन्दै असन्तुष्टि जनाएका छन्।

प्रधानमन्त्री अल्बानिजले ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानसँग घटनाबारे कुराकानी गर्दै सरकारको गम्भीर चासो व्यक्त गरेका हुन्।

अल्बानिजका अनुसार ओपनएआईको एउटा एआई प्रणालीले जुन १८ मा सर्भिसेस अस्ट्रेलियाले सञ्चालन गर्ने ‘मेडिकेयर तथ्याङ्क प्रतिवेदन सेवा’ मा पहुँच बनाएको थियो। उक्त पोर्टलमा स्वास्थ्य खर्च, औषधि तथा मेडिकेयरसम्बन्धी समग्र तथ्याङ्क राखिएका थिए।

सरकारका अनुसार एआई प्रणालीले सार्वजनिक नगरिएका केही सामग्रीमा समेत पहुँच बनाएको थियो। यद्यपि, व्यक्तिगत स्वास्थ्य विवरणमा पहुँच पुगेको कुनै प्रमाण फेला नपरेको जनाइएको छओपनएआईले घटनाबारे सेप्टेम्बर १० मा मात्रै अस्ट्रेलियाली सरकारलाई जानकारी गराएको थियो।

घटना भएको करिब तीन महिनापछि जानकारी दिइएको भन्दै प्रधानमन्त्री अल्बानिजले कम्पनीले सूचना दिने समय र प्रक्रियाप्रति असन्तुष्टि जनाएका हुन्।

घटनाबारे अहिले अनुसन्धान भइरहेको छ। साथै, यस क्रममा कुनै कानुन उल्लङ्घन भए–नभएको समेत जाँच गरिने प्रधानमन्त्रीले बताएका छन्।

सरकारी सेवा मामिला मन्त्री केटी गालाघरले प्राविधिक जानकारी प्राप्त भएपछि मात्रै एआई प्रणालीले गरेको गतिविधिबारे सरकार स्पष्ट हुन सकेको बताएकी छन्।

घटनापछि सम्बन्धित पोर्टल बन्द गरी त्यसमा रहेका तथ्याङ्कलाई थप सुरक्षित प्रणालीमा सारिएको छ।

ओपनएआईले आफ्ना प्रणालीले अपेक्षा नगरिएका केही गतिविधि गरेको स्वीकार गरेको छ। कम्पनीले विभिन्न सरकारी सेवासँग सम्बन्धित गतिविधिको समीक्षा भइरहेको र व्यक्तिगत स्वास्थ्य विवरणमा पहुँच पुगेको प्रमाण नदेखिएको जनाएको छ।

कार्यवाहक प्रधानमन्त्री रिचर्ड मार्लेसले सरकारी सूचना प्रणालीमा एआई प्रणालीले अनधिकृत पहुँच बनाएको यो पहिलो घटना भएको बताएका छन्।

उनका अनुसार घटना अत्यन्त संवेदनशील व्यक्तिगत सूचना चुहिएको विषय नभए पनि एआई प्रणालीको स्वायत्त गतिविधिबाट उत्पन्न हुनसक्ने साइबर सुरक्षा जोखिमप्रति गम्भीर हुन आवश्यक छ।

ओपनएआईले पनि आफ्ना प्रणालीले अपेक्षाविपरीत गरेका गतिविधिको पहिचान, अनुसन्धान र आवश्यक जानकारी सार्वजनिक गर्ने प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

प्रकाशित: ८ आश्विन २०८३ १७:३९ बिहीबार