अन्तर्राष्ट्रिय

ओन्लीफ्यान्सका मालिकको ४३ वर्षकै उमेरमा निधन

वयस्क सामग्रीका लागि विश्व प्रसिद्ध प्लेटफर्म ‘ओन्लीफ्यान्स’ का मालिक लियोनिद राडभिन्स्कीको ४३ वर्षको उमेरमा निधन भएको छ। क्यान्सरसँगको लामो संघर्षपछि उनको निधन भएको कम्पनीले एक विज्ञप्ति मार्फत पुष्टि गरेको हो।

युक्रेनमा जन्मेर अमेरिकाको शिकागोमा हुर्केका राडभिन्स्कीले सन् २०१८ मा यो कम्पनी खरिद गरेका थिए। कोभिड-१९ महामारीको समयमा साइटको लोकप्रियता ह्वात्तै बढेपछि उनी तीन वर्षभित्रै फोर्ब्सको अर्बपति सूचीमा पर्न सफल भएका थिए। सोमबार ओन्लीफ्यान्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्यान्सरसँगको लामो लडाइँपछि उहाँ बित्नुभयो।’ कम्पनीले यस दुःखद घडीमा उनको परिवारको गोपनीयताको सम्मान गर्न समेत आग्रह गरेको छ।

सन् २०१६ मा स्थापना भएको ओन्लीफ्यान्समा सिर्जनाकर्ता (क्रिएटर) ले भिडियो र फोटो पोस्ट गरेर ग्राहकबाट शुल्क लिन सक्छन्। खाना पकाउने, फिटनेसदेखि अन्य सामग्री सेयर हुने गरे पनि यो साइट मुख्य गरी पोर्नोग्राफीका लागि परिचित छ। कम्पनीले सबै भुक्तानीको २० प्रतिशत हिस्सा लिने गर्दछ। सन् २०२४ को तथ्यांक अनुसार नौ अर्ब डलरभन्दा बढीको कारोबारबाट यसले झण्डै २ अर्ब डलर राजस्व आर्जन गरेको थियो। ओन्लीफ्यान्समा ३७ करोड ७० लाखभन्दा बढी ग्राहक र ४६ लाख सिर्जनाकर्ता रहेका छन्।

राडभिन्स्कीको स्वामित्वमा कम्पनीले ठुलो सफलता पाए पनि यसले नियामकहरूको कडा छानबिन समेत झेल्नुपरेको थियो। बालबालिकाको पहुँच र उमेर जाँच गर्ने प्रक्रियामा कमजोरी देखिएपछि बेलायती नियामक संस्था ‘अफकम’ ले कम्पनीलाई करिब १० लाख पाउण्ड जरिवाना समेत गरेको थियो। सन् २०२१ मा यौनजन्य सामग्री प्रतिबन्ध लगाउने योजना बनाए पनि प्रयोगकर्ताको चर्को विरोधपछि कम्पनी पछि हटेको थियो।

अर्थशास्त्रमा स्नातक गरेका राडभिन्स्कीको कुल सम्पत्ति झण्डै ५ अर्ब डलर रहेको फोर्ब्सको अनुमान छ। लामो समय दुबई बसेका उनी पछिल्लो समय फ्लोरिडामा बस्दै आएका थिए। उनले विभिन्न टेक कम्पनीहरूमा लगानी गर्नुका साथै परोपकारी कार्यमा समेत सक्रियता राख्दै आएका थिए। एजेन्सी

प्रकाशित: १० चैत्र २०८२ १२:४९ मंगलबार