अन्तर्राष्ट्रिय

चुनाव प्रचारमा खटिए ओबामा : डेमोक्र्याट उम्मेदवारका पक्षमा मत मागे, ट्रम्पको ‘हेलीप्याड’माथि व्यंग्य

अमेरिकी मध्यावधि निर्वाचन नजिकिँदै गर्दा पूर्वराष्ट्रपति बाराक ओबामा डेमोक्र्याटिक उम्मेदवारको पक्षमा मत जुटाउन चुनावी मैदानमा उत्रिएका छन्। 

ओहायो र मिसिगनमा शनिबार आयोजित चुनावी सभामा उनले आफ्ना उम्मेदवारका लागि मत माग्नुका साथै राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भ्रष्टाचार, महँगी नियन्त्रणमा असफल भएको आरोप लगाए। सो अवसरमा उनले ट्रम्पमाथि ह्वाइट हाउसको निर्माणमा बढी ध्यान दिएको भन्दै व्यंग्य समेत गरेका थिए। 

ओबामाले ट्रम्प र उनका रिपब्लिकन सहयोगीहरूलाई लक्षित गर्दै उनीहरूले अभद्र व्यवहार र भ्रष्टाचारलाई प्रश्रय दिएको आरोप लगाए। ओहायोमा उनले रिपब्लिकन गभर्नर पदका उम्मेदवार विवेक रामास्वामीको एउटा चुनावी विज्ञापनको आलोचना गरे, जसमा डेमोक्र्याटिक उम्मेदवार एमी एक्टनकी आमाले छोरीलाई झुट बोलेको आरोप लगाउँदै उनको मानसिक स्वास्थ्यबारे प्रश्न उठाएकी छन्।

एक्टनले बाल्यकालमा दुर्व्यवहार, बेवास्ता र घरबारविहीनताको सामना गरेको सार्वजनिक रूपमा बताउँदै आएकी छन्। उनकी आमाले आफ्ना सन्तानको हेरचाह गर्ने अधिकार गुमाएकी थिइन्। एक्टनका सौतेनी बुबामाथि उनीसँग सम्बन्धित बलात्कारको आरोपमा मुद्दा चलेको थियो।

रामास्वामीको विज्ञापनको आलोचना गर्दै ओबामाले भने, ‘पछिल्ला दिनमा हामीले देखेका छौं, उनले नाघ्न नसक्ने कुनै सीमा छैन र उनी जुनसुकै हदसम्म गिर्न तयार छन्।’ एक्टनले पनि आफ्नो बाल्यकालको पीडालाई चुनावी फाइदाका लागि प्रयोग गरिएको भन्दै रामास्वामीको आलोचना गरिन्। ‘शालीनता अझै पनि महत्त्वपूर्ण छ,’ उनले भनिन्।

राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले उक्त विज्ञापनको बचाउ गरेका छन्। तर ओहायोका गभर्नर माइक डिवाइनसहित रिपब्लिकन पार्टीका केही नेताले विज्ञापन हटाउन आग्रह गरेका थिए।

मिसिगनको डेट्रोइटमा आयोजित कार्यक्रममा ओबामाले सिनेटका डेमोक्र्याटिक उम्मेदवार अब्दुल एल-सयदका पक्षमा मत मागे। रिपब्लिकन उम्मेदवार माइक रोजर्ससँग प्रतिस्पर्धा गरिरहेका एल-सयदमाथि कट्टरपन्थी भएको आरोप लाग्दै आएको छ। ओबामाले ती आरोपको विरोध गर्दै एल-सयदका मूल्य र मान्यता आफूसँग मिल्ने बताए।

‘हामीले यस्तो अवस्था पहिले पनि देखेका छौं। म आफैं यसको सामना गरिसकेको छु,’ उनले भने। एल-सयदको नाम र धार्मिक आस्थालाई आधार बनाएर आलोचना गरिएको उनको संकेत थियो।

ओबामाले आफ्नो राष्ट्रपतित्वकालका केही निर्णयप्रति एल-सयदले गरेको आलोचनालाई पनि स्वीकार गरे। राजनीतिक मतभेद भए पनि आफूहरूका साझा मूल्य र मान्यता रहेको उनको भनाइ थियो। डेट्रोइटमा ओबामाको उपस्थितिले अश्वेत मतदाताको समर्थन जुटाउन सहयोग पुग्ने डेमोक्र्याटिक नेताहरूको अपेक्षा छ। यसअघि पुर्वउपराष्ट्रपति कमला ह्यारिसले पनि एल-सयदका पक्षमा चुनावी प्रचार गरेकी थिइन्।

चुनावी सभामा ओबामाले ट्रम्पले सर्वसाधारणको जीवनयापन खर्च घटाउन नसकेको आरोप लगाउँदै ह्वाइट हाउसमा नयाँ सभाकक्ष र हेलिकप्टर अवतरण गर्ने स्थान (हेलीप्याड) निर्माणमा बढी ध्यान दिएको भन्दै व्यंग्य गरे।

‘मलाई थाहा छैन तपाईंहरूले ध्यान दिनुभएको छ कि छैन, तर उनी घरको मर्मतसम्भारमा निकै केन्द्रित देखिन्छन्,’ ओबामाले भने।

उनले ट्रम्पका सहयोगीलाई समर्थन गर्ने वा नगर्ने निर्णय मतदाताकै हातमा रहेको बताए। ‘दुई वर्षको अव्यवस्था, क्रूरता, भ्रष्टाचार र अक्षमतापछि अब तपाईंहरूले पुग्यो भन्न सक्नुहुन्छ,’ उनले भने।

नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनले अमेरिकी संसद्को शक्ति सन्तुलन निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। ओबामाले अब जर्जियामा पनि चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित: ८ कार्तिक २०८३ ०७:३७ आइतबार