अन्तर्राष्ट्रिय

मध्यावधि चुनावअघि ट्रम्पमाथि ओबामाको प्रहार

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आगामी मध्यावधि चुनावलाई लक्षित गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनको आलोचना गरेका छन्। 

नोभेम्बर ३ मा हुने चुनावअघि डेमोक्रेटिक पार्टीका उम्मेदवारको पक्षमा प्रचारमा उत्रिएका ओबामाले ट्रम्प प्रशासनमाथि भ्रष्टाचार, नीतिगत कमजोरी र अनावश्यक विषयमा ध्यान केन्द्रित गरेको आरोप लगाएका हुन्। 

रोयटर्सका अनुसार ओबामाले शनिबार अमेरिकाको क्लिभल्यान्ड र डेट्रोइटमा आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गर्दै डेमोक्रेटिक उम्मेदवारका लागि मत मागेका थिए। उनले मध्यावधि चुनावलाई ट्रम्प प्रशासनमाथि नियन्त्रण कायम गर्ने र सरकारलाई जवाफदेही बनाउने अवसरका रूपमा प्रस्तुत गरे। 

मिशिगनमा अमेरिकी सिनेटका डेमोक्रेटिक उम्मेदवार अब्दुल अल–सयदको पक्षमा प्रचार गर्दै ओबामाले नोभेम्बर ३ को मतदानले ट्रम्पको राष्ट्रपतित्वका केही निर्णयमाथि नियन्त्रण कायम गर्न सक्ने बताए। 

‘हामीले त्यो सर्किट ब्रेकर चलाउनुपर्छ र सरकारलाई केही जवाफदेही बनाउनुपर्छ,’  ओबामाले भने। 

सन् २००९ देखि २०१७ सम्म अमेरिकाको राष्ट्रपति रहेका ओबामा डेमोक्रेटिक पार्टीका प्रभावशाली नेतामध्ये एक हुन्। पार्टीले उनलाई चुनावी अभियानमा उतारेर आफ्ना समर्थकलाई सक्रिय बनाउने र प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रमा मतदातालाई आकर्षित गर्ने प्रयास गरेको छ। 

मिशिगनको सिनेट निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार अल–सयदले रिपब्लिकन पार्टीका पूर्वसांसद माइक रोजर्ससँग प्रतिस्पर्धा गर्दैछन्। ओबामाले उक्त चुनावलाई ट्रम्प प्रशासनको कार्यशैलीप्रति मतदाताले आफ्नो धारणा व्यक्त गर्ने अवसरका रूपमा व्याख्या गरेका छन्।

ट्रम्पमाथि भ्रष्टाचारको आरोप :

ओबामाले ट्रम्प र उनको परिवारको व्यावसायिक गतिविधि तथा सरकारी नीतिसँग त्यसको सम्बन्धबारे प्रश्न उठाएका छन्। उनले ट्रम्प प्रशासनले निजी स्वार्थ र सार्वजनिक जिम्मेवारीबीचको सीमालाई कमजोर बनाएको आरोप लगाउँदै रिपब्लिकन पार्टी पनि त्यसप्रति जवाफदेही हुनुपर्ने बताएका छन्। 

‘हामीले यसरी अनुग्रह बेच्न यति इच्छुक राष्ट्रपति कहिल्यै देखेका छैनौँ,’ ओबामाले भने । उनले रिपब्लिकन पार्टी भ्रष्टाचार र सरकारको जवाफदेहितासम्बन्धी प्रश्नमा ट्रम्पको पक्षमा उभिएको आरोपसमेत लगाए। 

रोयटर्स र इप्सोसले अगस्टमा गरेको सर्वेक्षणमा ६३ प्रतिशत अमेरिकीले ट्रम्प र उनको परिवारले क्रिप्टोकरेन्सीबाट अनुचित लाभ लिएको विश्वास गरेको देखिएको थियो। त्यस्तै, ६९ प्रतिशत उत्तरदाताले ट्रम्पका नीतिगत निर्णय उनको निजी व्यावसायिक कारोबारबाट प्रभावित भएको विश्वास गरेका थिए। 

ओबामाले इरानसम्बन्धी ट्रम्प प्रशासनको रणनीतिको पनि आलोचना गरेका छन् । प्रशासनले इरानविरुद्धको आफ्नो नीतिलाई सफलताका रूपमा प्रस्तुत गरे पनि त्यसले क्षेत्रीय अस्थिरता र विश्वव्यापी ऊर्जा आपूर्तिमा जोखिम बढाएको उनको तर्क थियो। 

उनले हर्मुजको जलडमरूमध्यमा जहाजमाथि आक्रमण हुन सक्ने इरानको धम्कीले तेल आपूर्तिमा असर पार्ने जोखिम बढाएको उल्लेख गर्दै त्यसबाट इरानले रणनीतिक लाभ लिन सक्ने बताए। 

‘इरानसँग अहिले हर्मुजको जलडमरूमध्यमा भिटो शक्ति छ, जहाँबाट विश्वमा तेल आपूर्ति हुन्छ,’ ओबामाले भने।  

ह्वाइट हाउसको नवीकरणमाथि व्यङ्ग्य : 

ओबामाले ट्रम्प प्रशासनले राष्ट्रिय महत्त्वका विषयभन्दा देखावटी र कम महत्त्वका विषयमा बढी ध्यान दिएको आरोप पनि लगाए। उनले अमेरिकी रक्षा सचिव पिट हेगसेथको कार्यशैली र ह्वाइट हाउसको नवीकरणलाई व्यङ्ग्यको विषय बनाएका थिए। 

ह्वाइट हाउसको भित्री सजावट र नवीकरणबारे टिप्पणी गर्दै ओबामाले ट्रम्पले त्यसलाई अत्यधिक भड्किलो बनाएको आशय व्यक्त गरे। 

‘उनले ह्वाइट हाउसलाई सद्दाम हुसेनले चीजकेक कारखाना खोलेको जस्तो देखाएका छन्,’ ओबामाले व्यङ्ग्य गर्दै भने।   

एजेन्सी 

प्रकाशित: ८ कार्तिक २०८३ १५:३० आइतबार