अन्तर्राष्ट्रिय

रसुवा बाढीपीडितलाई ट्रम्प सरकारको भन्दा एनभिडिया सीईओको तीन गुणा बढी सहयोग

रसुवा बाढीपीडितको राहतका लागि चर्चित अमेरिकी प्रविधि कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङले एक करोड अमेरिकी डलर सहयोग गरेका छन्।

यो रकम डोनाल्ड ट्रम्प सरकारले उपलब्ध गराएको ३६ लाख डलर सहयोगभन्दा झन्डै तीन गुणा बढी हो। हुआङले रसुवा र भोटेकोशी क्षेत्रका बाढीपीडितको उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सिधै उक्त रकम दिएका हुन्।

अर्थमन्त्री स्वर्णिम वाग्लेले भिडियो सन्देशमार्फत यसबारे जानकारी गराउँदै हुआङ र एनभिडियालाई धन्यवाद दिएका छन्।

‘नमस्ते। नेपाल सरकारको तर्फबाट म अमेरिकी एआई कम्पनी एनभिडियाका संस्थापक, सीईओ तथा अध्यक्ष जेन्सेन हुआङप्रति प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रसुवा-भोटेकोशी बाढीपीडितका लागि एक करोड अमेरिकी डलर सहयोग गरेकोमा कृतज्ञता व्यक्त गर्न चाहन्छु,’ वाग्लेले भनेका छन्।

उनले हुआङको योगदान परोपकारी दृष्टिले पनि उल्लेखनीय रहेको र यसले अन्य व्यक्ति तथा संस्थालाई समेत नेपाललाई सहयोग गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

यसअघि अमेरिकाले नेपाललाई ३६ लाख डलर आर्थिक सहयोगका साथै आपतकालीन राहत सामग्री पठाएको थियो। अमेरिकी सहयोगबाट बाढी प्रभावित करिब १० हजार परिवारलाई तीन महिनासम्म पुग्ने खाद्यान्न उपलब्ध गराइने बताइएको छ।

अमेरिकाले सैन्य विमानमार्फत प्राथमिक उपचार सामग्री, स्ट्रेचर, विपद् व्यवस्थापन सामग्री र भग्नावशेष हटाउने उपकरणसमेत नेपाल पठाएको थियो।

प्रकाशित: १९ भाद्र २०८३ ०६:४९ शुक्रबार