अन्तर्राष्ट्रिय

अब मुनीर पाकिस्तानका ‘सुपर सेनाध्यक्ष’ ! आणविक बटनसहित ५ वर्ष शक्ति हातमा

फाइल तस्बिर

पाकिस्तानी सरकारले बिहीबार असिम मुनीरलाई देशको पहिलो रक्षा बल प्रमुख र सेना प्रमुख दुवै पदमा नियुक्त गरेको छ। उनले दुवै पद पाँच वर्षका लागि सम्हाल्नेछन्। राष्ट्रपति आसिफ अली जरदारीले नियुक्तिलाई अनुमोदन गरेका छन्।

यससँगै मुनीर एकैपटक दुवै पद सम्हाल्ने पहिलो पाकिस्तानी सैन्य अधिकारी बनेका छन्। प्रधानमन्त्री शेहबाज शरीफले नियुक्ति सिफारिस गर्दै राष्ट्रपतिलाई सारांश पठाएका थिए। मुनीरलाई यस वर्षको सुरुमा फिल्ड मार्शलको पदमा पदोन्नति गरिएको थियो।

यसैगरी, वायु सेना प्रमुख जहीर अहमद बाबर सिद्धुको कार्यकाल थप दुई वर्ष बढाइएको छ, जुन मार्च २०२६ पछि लागू हुनेछ।

नोभेम्बर १२ मा पाकिस्तानी संसदले २७ औं संवैधानिक संशोधन पारित गरेको थियो, जसले सेनाको शक्ति बढायो। सो संशोधनअन्तर्गत मुनीरलाई रक्षा बल प्रमुख बनाइएको हो। यो पदसँगै उनले पाकिस्तानको आणविक हतियारको कमान्ड पनि लिएका छन्, जसले उनलाई देशको सबैभन्दा शक्तिशाली व्यक्ति बनाएको छ।

मुनीरलाई नोभेम्बर २९, २०२२ मा सेना प्रमुख बनाइएको थियो। उनको मूल कार्यकाल नोभेम्बर २८, २०२५ मा सकिएको थियो। गत वर्ष संसदले सेना प्रमुखको कार्यकाल तीन वर्षबाट पाँच वर्ष बनाउने कानून पारित गरेको थियो। गत महिना गरिएको संशोधनले संयुक्त सेना प्रमुखहरुको समितिको अध्यक्षको सट्टा रक्षा बल प्रमुखको नयाँ पद सिर्जना गरेको थियो।

नोभेम्बर २७ मा संयुक्त सेना प्रमुखहरुको समितिको अध्यक्ष साहिर शमशाद मिर्जा अवकाशमा गएपछि मुनीरलाई रक्षा बल प्रमुख नियुक्त गरिएको छ।

प्रकाशित: १९ मंसिर २०८२ ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App