उत्तर कोरियाले क्षेप्यास्त्रमा जडान गरेर प्रहार गर्न सकिने शक्तिशाली क्लस्टर बमको परीक्षण गरेको छ। उसले यसै वर्षभित्र विभिन्न प्रकारका यस्ता बम सेनामा प्रयोग गर्ने तयारी गरेको जनाएको छ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) का अनुसार शनिबार क्लस्टर बमको क्षमता परीक्षण गरिएको हो। परीक्षणको उद्देश्य युद्धमा प्रयोग गर्दा यसले कति ठुलो क्षति पुर्याउन सक्छ भन्ने मूल्यांकन गर्नु थियो।
केसीएनएका अनुसार परीक्षण गरिएको ‘स्ट्यान्डर्ड टाइप २’ क्लस्टर बमले १२ देखि १३ हेक्टर क्षेत्रफलमा रहेका लक्ष्यलाई नष्ट गर्न सक्ने क्षमता देखाएको छ। उत्तर कोरियाले परीक्षणबाट बमको प्रहार क्षमता पुष्टि भएको दाबी गरेको छ।
उत्तर कोरियाको क्षेप्यास्त्र प्रशासनका एक उच्च अधिकारीका अनुसार क्लस्टर बमलाई प्रयोगको उद्देश्य र लक्ष्यका आधारमा चार प्रकारमा विभाजन गरिएको छ। ती सबै प्रकारका बम यसै वर्षभित्र सेनाले प्रयोग गर्न सक्ने अवस्थामा पुर्याउने तयारी भइरहेको उनले बताएका छन्।
क्लस्टर बममा एउटा मुख्य बमबाट धेरै साना विस्फोटक बम निस्कन्छन्। ती साना बम ठुलो क्षेत्रमा फैलिने भएकाले एकैपटक धेरै ठाउँमा क्षति पुर्याउन सक्छन्। यस्ता हतियारले सैनिकसँगै सर्वसाधारणलाई पनि गम्भीर जोखिममा पार्न सक्छन्।
दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले आफ्नो उत्तरपश्चिमी क्षेत्र चोङजु आसपासबाट पहेंलो सागरतर्फ क्षेप्यास्त्र प्रहार गरेको थियो। दक्षिण कोरियाली सेनाले प्रक्षेपणअघि नै उत्तर कोरियाको गतिविधि निगरानी गरेको र अमेरिकासँग सूचना आदानप्रदान गरेको जनाएको छ।
दक्षिण कोरियाको रक्षा तथा सुरक्षा मञ्चका महासचिव शिन जोङ-वूले परीक्षणमा प्रयोग गरिएको क्षेप्यास्त्र ह्वासोङ-११ रा हुन सक्ने बताएका छन्। परीक्षणपछि सार्वजनिक गरिएका तस्बिरमा ह्वासोङ-११डी नामको छोटो दूरीको क्षेप्यास्त्रबाट क्लस्टर बम प्रहार गरिएको देखिएको छ।
यसअघि गत अप्रिलमा पनि उत्तर कोरियाले ह्वासोङ-११ रा क्षेप्यास्त्रमा जडान गरिएको क्लस्टर बम परीक्षण गरेको जनाएको थियो। त्यसबेला नेता किम जोङ-उन र उनकी छोरी जु-एले परीक्षणको निरीक्षण गरेका थिए। तर शनिबारको पछिल्लो परीक्षणमा किम सहभागी थिएनन्। उक्त परीक्षण जनरल किम जोङ-सिकको निरीक्षणमा भएको बताइएको छ।
यो परीक्षण दक्षिण कोरिया, अमेरिका र जापानका उच्च कूटनीतिक अधिकारीहरूले उत्तर कोरियालाई आणविक हतियार त्याग्न आग्रह गरिरहेका बेला भएको हो। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि उत्तर कोरिया आफ्ना र सहयोगी देशका चासोका विषयमा छलफल गर्न तयार भए राष्ट्रपति डोनाल्ड ट्रम्प नेता किमसँग वार्ता गर्न इच्छुक रहेको बताएका छन्। तर अहिलेसम्म कुनै भेटवार्ता तय भएको छैन।
उत्तर कोरियाले पछिल्लो समय क्षेप्यास्त्र, ड्रोन र अन्य सैन्य प्रविधिको विकासलाई तीव्रता दिइरहेको छ। गत साता किमले ड्रोन प्रविधिमा पूर्ण क्षमता हासिल गर्नुपर्ने बताएका थिए। यसअघि उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गर्न सकिने क्रुज क्षेप्यास्त्र र कृत्रिम बुद्धिमत्ताको प्रयोग गरिएको भनिएको टारपेडोको पनि परीक्षण गरेको दाबी गरेको थियो।
उत्तर कोरियाले आफू आणविक हतियार सम्पन्न राष्ट्र भएको बताउँदै आएको छ। उसले आणविक हतियार त्याग्ने सम्भावना पनि अस्वीकार गर्दै आएको छ। यसैबिच, अमेरिका, दक्षिण कोरिया र जापानले भने उत्तर कोरियालाई पूर्ण रूपमा आणविक हतियारमुक्त बनाउनुपर्ने आफ्नो अडान दोहोर्याएका छन्। एजेन्सी
प्रकाशित: १५ कार्तिक २०८३ १३:३५ आइतबार