अन्तर्राष्ट्रिय

त्रिपक्षीय सैन्य अभ्यास सकिएको भोलिपल्ट उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

दक्षिण कोरिया, अमेरिका र जापानको पाँच दिने त्रिपक्षीय सैन्य अभ्यास सकिएको एक दिनपछि उत्तर कोरियाले पूर्वी समुद्रतर्फ धेरै छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ।

दक्षिण कोरियाली सेनाका अनुसार शनिबार बिहान ५ः२० बजे (स्थानीय समयअनुसार) वोनसान क्षेत्रबाट क्षेप्यास्त्र प्रक्षेपण गरिएको हो। ती क्षेप्यास्त्र करिब २५० किलोमिटर उडेपछि समुद्रमा खसेका थिए। दक्षिण कोरिया र अमेरिकी सेनाले क्षेप्यास्त्र प्रक्षेपणको थप विवरणबारे अनुसन्धान गरिरहेका छन्।

दक्षिण कोरियाली सेना र अमेरिकी गुप्तचर अधिकारीहरूले उत्तर कोरियाका गतिविधिमाथि सुरुदेखि नै निगरानी गरिरहेको बताएका छन्। जापानसँग पनि आवश्यक सूचना आदानप्रदान गरिएको दक्षिण कोरियाली सेनाले जनाएको छ।

सेनाले उत्तर कोरियाका गतिविधिमाथि निगरानी बढाएको र अमेरिका तथा जापानसँग आवश्यक सूचना आदानप्रदान गर्दै पूर्ण सतर्कता कायम राखेको बताएको छ।

स्रोतका अनुसार उत्तर कोरियाले ह्वासोङ-११ शृंखलाका ब्यालिस्टिक क्षेप्यास्त्र र ६०० मिलिमिटरका मल्टिपल रकेट लन्चरबाट समेत पटक-पटक प्रक्षेपण गरेको देखिएको छ।

उत्तर कोरियाली रक्षामन्त्री किम सोङ-गीले यसअघि त्रिपक्षीय सैन्य अभ्यासको विरोध गर्दै कडा प्रतिउत्तर दिने चेतावनी दिएका थिए। उनले अमेरिका र उसका सहयोगीले नयाँ सैन्य टकराब निम्त्याउने प्रयास गरे शक्ति प्रयोग गरेर प्रतिउत्तर दिने बताएका थिए।

उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाबिच हुने संयुक्त सैन्य अभ्यासलाई लामो समयदेखि आफूविरुद्धको आक्रमणको तयारी भन्दै विरोध गर्दै आएको छ। यस्ता सैन्य अभ्यासपछि उत्तर कोरियाले क्षेप्यास्त्र तथा अन्य हतियार परीक्षण गर्दै आएको छ। एजेन्सी

प्रकाशित: २७ भाद्र २०८३ १२:२७ शनिबार