अन्तर्राष्ट्रिय

अमेरिकासँगको संयुक्त सैन्य अभ्यासअघि दक्षिण कोरियाले पठाएको शान्ति प्रस्तावलाई उत्तरको ‘बेवास्ता’

अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास सुरु गर्नै लाग्दा कोरियाली प्रायद्वीपमा तनाव बढेको छ।

यसैबिच दक्षिण कोरियाले राखेको शान्ति वार्ताको प्रस्तावलाई उत्तर कोरियाले कुनै प्रतिक्रिया नदिई बेवास्ता गरेको छ। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले जापानबाट कोरियाको मुक्तिको ८१ औँ वार्षिकोत्सवका अवसरमा बोल्दै शनिबार सन् १९५३ को युद्धविराम सम्झौतालाई स्थायी शान्ति व्यवस्थामा बदल्न वार्ता गर्ने प्रस्ताव राखेका थिए। राष्ट्रपति लीले दुवै देश ‘शान्तिपूर्ण सहअस्तित्व र विकासका लागि वार्ताको टेबुलमा बस्नेछन्’ भन्दै आशा व्यक्त गरेका थिए।

यो पनि पढ्नुहोस्

जापानी उपनिवेशबाट मुक्ति भएको दिन दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तरसँग युद्ध अन्त्यको प्रस्ताव

तर, उत्तर कोरियाको नेतृत्व त के त्यहाँका सरकारी सञ्चार माध्यमहरूले समेत उक्त सम्बोधनबारे कुनै चर्चा गरेनन्। त्यसको साटो उत्तर कोरियाले आफ्नो आन्तरिक उत्सव र नेताहरूप्रतिको वफादारीमा नै ध्यान केन्द्रित गरेको योनहाप समाचार एजेन्सीले जनाएको छ।

सीमा क्षेत्रमा पनि तनाव देखिएको छ। केही दिनअघि मात्र दक्षिण कोरियाली सेनाले सीमा रेखा पार गरेका उत्तर कोरियाली सैनिकहरूलाई लक्षित गरी चेतावनीस्वरूप गोली चलाएको थियो। दक्षिण कोरियाली सैनिक अधिकारीहरूका अनुसार सीमा क्षेत्रमा गस्ती गरिरहेका उत्तर कोरियाली सेनाले सैन्य सीमांकन रेखा पार गरेपछि सो कदम चालिएको हो। चेतावनी पाएलगत्तै उनीहरू आफ्नो क्षेत्रमा फिर्ता भएका थिए।

कोरियाली प्रायद्वीपमा जारी सैन्य तनावका बिच सोमबारदेखि अमेरिका र दक्षिण कोरियाको वार्षिक संयुक्त सैन्य अभ्यास ‘उल्ची फ्रिडम शिल्ड’ सुरु हुँदैछ। उत्तर कोरियाले भने यी अभ्यासहरूलाई आफूमाथिको आक्रमणको पूर्वाभ्यास भन्दै कडा आलोचना गर्दै आएको छ। उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको पुरानो तस्बिर सेयर गर्दै उनीहरूको सम्बन्धबारे चर्चा गरेका छन्।

शनिबार ट्रुथ सोसलमा तस्बिर राख्दै ट्रम्पले तस्बिरमा देखिएको गम्भीर मुद्राका बाबजुद आफूहरूबिच राम्रो सम्बन्ध रहेको बताएका हुन्। उनले लेखेका छन्, ‘यस विशेष तस्बिरमा रिसाए जस्तो देखिने रूपको बावजुद, धेरै ठाउँमा हामी मुस्कुराइरहेका छौं, किम जोङ उन र म राम्रोसँग मिल्छौं!’

यो पनि पढ्नुहोस्

किमसँगको तस्बिर सेयर गर्दै ट्रम्पले भने : हामी मुस्कुराइरहेका छौं, राम्रोसँग मिल्छौं

उता, उत्तर कोरियाली नेता किम जोङ उनले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सन्देश पठाउँदै रूससँगको सम्बन्ध थप प्रगाढ बनाउने प्रतिबद्धता जनाएका छन्। युक्रेन युद्धमा रूसलाई समर्थन गर्न उत्तर कोरियाले हतियार र सेना सहयोग गरिरहेको चर्चाका बिच यो कदमलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। यस्तै, रूसी जहाज ‘पल्लाडा’ पनि सद्भावना भ्रमणका लागि उत्तर कोरियाको वोनसान बन्दरगाहमा आइपुगेको छ।

सन् १९५०-५३ को कोरियाली युद्ध औपचारिक शान्ति सन्धि बिना नै युद्धविराममा टुंगिएकाले प्राविधिक रूपमा यी दुई राष्ट्र अझै पनि युद्धको अवस्थामै रहेका छन्। एजेन्सी

प्रकाशित: ३१ श्रावण २०८३ २१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App