अन्तर्राष्ट्रिय

अमेरिकाभर ट्रम्पको अधिनायकवादविरुद्ध ‘नो किंग्स’ प्रदर्शन, ट्रम्प भन्छन्: म राजा होइन

अमेरिकामा डोनाल्ड ट्रम्प नेतृत्वको सरकार अधिनायकवादी बन्दै गएको भन्दै स्थानीय समय अनुसार शनिबार देशभरका सहरमा हजारौँ प्रदर्शनकारीले ‘नो किंग्स’ मार्च र र्‍याली निकालेका छन्। 

एपी न्युजका अनुसार न्यूयोर्कको टाइम्स स्क्वायरमा ‘विरोध गर्नु देशभक्तिपूर्ण हो’ र ‘फाँसीवादको प्रतिरोध गर्नुहोस्’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर मानिसहरू जम्मा भएका हुन्। बोस्टन, एटलान्टा, सिकागो, वाशिंगटन र लस एन्जलसमा जुलुस निकालियो। मोन्टानाको बिलिङ्स अदालतदेखि साना सार्वजनिक स्थानमा धर्ना दिइयो। 

ट्रम्पको रिपब्लिकन पार्टीले यी प्रदर्शनलाई ‘देशविरोधी’ भन्दै खारेज गरेको छ। तर धेरै ठाउँमा र्‍यालीहरू उत्सवमय देखिन्थे। मार्चिङ ब्यान्ड, ‘वी द पिपल’ लेखिएको ब्यानरमा हस्ताक्षर र पोर्टल्याण्डमा भ्यागुताको पोसाक लगाएका प्रदर्शनकारी देखिए, जुन प्रतिरोधको प्रतीक बन्यो। 

यो ट्रम्प ह्वाइट हाउस फर्किएपछिको तेस्रो ठूलो जनप्रदर्शन हो। प्रदर्शनकारीहरूले ट्रम्पको विभिन्न राज्यमा सुरक्षाको नाम दिएर नेशनल गार्ड तैनाथ गर्नेसहितका अन्य विभिन्न कार्यकारी कदमलाई अधिनायकवादतर्फको संकेत भनेका छन्। 

वाशिंगटनमा इराक युद्धका अनुभवी सन हावर्डले ट्रम्प प्रशासनको ‘कानूनको अवहेलना’ देखेर पहिलो पटक प्रदर्शनमा सहभागी भएको बताए। ‘मैले स्वतन्त्रताका लागि र विदेशमा अतिवादविरुद्ध लडेको थिएँ,’ उनले भने, ‘अब अमेरिकामा अतिवादीहरूले नागरिक द्वन्द्व निम्त्याउन खोजिरहेको देख्छु।’

यसैबिच, ट्रम्प फ्लोरिडाको मार–ए–लागोमा थिए। ‘उनीहरूले मलाई राजा भन्छन्, म राजा होइन,’ उनले फक्स न्युजसँग भने। एजेन्सी

तस्बिर : एपी

प्रकाशित: २ कार्तिक २०८२ १३:५१ आइतबार