अन्तर्राष्ट्रिय

अमेरिकी इतिहासकै ठुलो सामूहिक सजाय कटौती गर्ने न्यूसमको निर्णय

क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले राज्यमा मृत्युदण्डको सजाय पाएका ५४८ जनाको सजाय बिना प्यारोल आजीवन कारावासमा बदल्ने घोषणा गरेका छन्।

बिहीबार (स्थानीय समय) गरिएको घोषणाअनुसार यो निर्णय कार्यान्वयन गर्न राज्यको सर्वोच्च अदालतको स्वीकृति आवश्यक पर्नेछ।

न्यूसमले सार्वजनिक गरेको पत्रमा राज्यले नै कसैको हत्या गर्नु क्यालिफोर्नियाको मूल्य र न्याय प्रणालीविपरीत भएको बताएका छन्। उनले भनेका छन्, ‘राज्यबाट हुने हत्या क्यालिफोर्नियाको मूल्यसँग मेल खाँदैन र यसले कानुनी प्रणालीको आधारलाई कमजोर बनाउँछ।’

उनको कार्यालयका अनुसार मृत्युदण्डको सजाय पाएकामध्ये ५२९ पुरुष र १९ महिला छन्। तीमध्ये ३८२ जनाको सजाय परिवर्तन गर्न सर्वोच्च अदालतको स्वीकृति आवश्यक पर्नेछ।

मृत्युदण्ड सूचना केन्द्रका अनुसार सबै सजाय परिवर्तन भए अमेरिकी इतिहासकै ठुलो सामूहिक सजाय कटौती हुनेछ। यसले अमेरिकामा मृत्युदण्डको सजाय पाएका कैदीको संख्या करिब ३० प्रतिशत घटाउनेछ।

न्यूसम लामो समयदेखि मृत्युदण्डको विरोध गर्दै आएका छन्। उनले सन् २०१९ मै क्यालिफोर्नियामा मृत्युदण्ड कार्यान्वयनमा रोक लगाएका थिए। राज्यमा सन् २००६ यता कसैलाई मृत्युदण्ड दिइएको छैन।

तर निर्णयप्रति सबैको समर्थन छैन। अपराधमा ज्यान गुमाएका व्यक्तिका परिवार र सरकारी वकिलहरूले यसको विरोध गरेका छन्। उनीहरूले यस्तो निर्णयले पीडित परिवारको पीडा र न्यायको मागलाई बेवास्ता गरेको बताएका छन्।

न्यूसमले यो निर्णय आफ्नो राजनीतिक जीवनकै कठिनमध्ये एक भएको बताएका छन्। उनका अनुसार यसले अपराधमा आफन्त गुमाएका परिवारका पुराना पीडादायी सम्झना फेरि बल्झाउन सक्छ।

क्यालिफोर्नियामा मृत्युदण्डसम्बन्धी कानुन भने यथावत् छ। न्यूसमको पछिल्लो निर्णयले पनि कानुन खारेज गर्दैन, बरु अहिले मृत्युदण्डको सजाय पाएका कैदीको सजाय मात्र परिवर्तन गर्ने प्रस्ताव गरेको हो।

प्रकाशित: २० कार्तिक २०८३ १०:३० शुक्रबार