न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले निर्वाचनको अन्तिम नतिजामा संसदीय बहुमत गुमाएपछि सरकार टिकाउन मध्यमार्गी पार्टी अपर्चुनिटीको समर्थन जुटाउनुपर्ने भएको छ।
शुक्रबार सार्वजनिक नतिजाअनुसार उनी नेतृत्वको दक्षिणपन्थी गठबन्धन बहुमतभन्दा एक सिट कममा सीमित भएको छ।
नोभेम्बर ७ को प्रारम्भिक मतपरिणामले गठबन्धनलाई बहुमत दिएको देखिए पनि अन्तिम नतिजामा नेसनल पार्टीले दुई सिट गुमाएपछि राजनीतिक समीकरण बदलिएको हो।
लक्सनले नयाँ सरकार गठनका लागि हुने वार्ता चुनौतीपूर्ण र समय लाग्ने खालको हुन सक्ने बताए। सहमतिमा पुग्न नसके देशमा पुनः निर्वाचनको सम्भावना पनि छ।
सरकार गठनमा निर्णायक बनेको क्युला वोङ नेतृत्वको अपर्चुनिटीले सबैभन्दा धेरै सिट प्राप्त गर्ने दलसँग सहकार्य गर्ने जनाएको छ।
तर जलवायु परिवर्तन, जीवनयापन खर्च र राजनीतिक शुद्धतासम्बन्धी आफ्ना आधारभूत अडानमा सम्झौता नगर्ने वोङले स्पष्ट पारेकी छिन्। उनले अर्को निर्वाचनको सम्भावनालाई पनि अस्वीकार गरेकी छैनन्।
३८ वर्षीया वोङले व्यावहारिक र सहकार्यमा आधारित राजनीतिमार्फत बढ्दो राजनीतिक ध्रुवीकरण कम गर्ने प्रतिबद्धता जनाएकी छिन्।
गत वर्ष अगस्टमा करिब एक प्रतिशत मतबाट पार्टी नेतृत्व सम्हालेकी उनको पार्टी अहिले सरकार गठनमा निर्णायक शक्तिका रूपमा उदाएको छ। लक्सन र विपक्षी लेबर पार्टीका नेता क्रिस हिप्किन्स दुवैले उनीसँग छलफल गरिसकेका छन्।
लक्सनले न्युजिल्यान्डवासीलाई स्थिर र पूर्ण कार्यकाल चलाउन सक्ने सरकार आवश्यक रहेको बताए। सन् २०२३ को निर्वाचनपछि उनलाई न्युजिल्यान्ड फस्र्ट र एसीटी पार्टीसँग गठबन्धन सरकार बनाउन छ हप्ताभन्दा बढी लागेको थियो।
यसपटक पनि नयाँ सरकारको स्वरूप निर्धारण हुन केही हप्ता वा महिना लाग्न सक्ने देखिएको छ।
राष्ट्रिय प्रसारणकर्ता आरएनजेडका अनुसार न्युजिल्यान्ड फस्र्टले शुक्रबार समर्थकलाई पठाएको सन्देशमा निर्वाचनको नतिजाले मुलुकलाई आवश्यक निश्चितता दिन नसकेको जनाएको छ।एएफपी
प्रकाशित: ११ मंसिर २०८३ १९:०९ शुक्रबार