न्यूयोर्क सहरका मेयर जोहरान ममदानीले हालै सार्वजनिक गरेका केही बहुभाषिक भिडियोहरूले सामाजिक सञ्जालमा तहल्का मच्चाएका छन्।
हाइस्कुलका विद्यार्थीलाई निःशुल्क ब्रोडवे टिकट बाँड्ने अभियानको प्रचार गर्न उनले अंग्रेजीसँगै मन्डारिन (चिनियाँ), बंगाली र स्पेनिश भाषामा भिडियो बनाएका हुन्। उनको यो अनौठो र मेहनती शैली देखेर मानिसहरू छक्क परेका छन् र सामाजिक सञ्जालमा भन्न थालेका छन्, 'अब बंगाली पनि बोल्दै छन्, उनले गर्न नसक्ने के छ र?'
यो अभियान थिएटर डेभलपमेन्ट फण्ड (टीडीएफ) सँगको सहकार्यमा ल्याइएको हो। यसअन्तर्गत न्यूयोर्कका हाइस्कुलमा पढ्ने विद्यार्थीहरूका लागि दुई हजार एक सयभन्दा बढी निःशुल्क टिकटको व्यवस्था गरिएको छ। विद्यार्थीले लटरीमार्फत ब्रोडवे र अफ-ब्रोडवे शो हेर्ने मौका पाउन सक्छन्। यो लटरी अगस्ट १३ देखि १७ सम्म खुलेको थियो भने विजेताको नाम सेप्टेम्बर १ मा घोषणा हुनेछ।
लटरीमा सहभागी हुने सबै विद्यार्थीले दुई महिनाको निःशुल्क टीडीएफ सदस्यता पाउँछन्। यसबाट उनीहरूले टिकटमा भारी छुट पाउनुका साथै विभिन्न संग्रहालय तथा सांस्कृतिक कार्यक्रममा निःशुल्क वा सस्तोमा प्रवेश गर्न सक्छन्। मेयर ममदानी भन्छन्, 'संसारभरका मानिसहरू ब्रोडवे हेर्न न्यूयोर्क आउँछन्, यहाँ हुर्केका हाम्रा बालबालिकाले पनि यो अनुभव गर्न पाउनुपर्छ।'
भिडियोमा मेयरले क्यामेरातिर हेर्दै एकदमै सहज ढंगले कुरा गरेका छन्। चिनियाँ भाषामा बोल्दै उनले 'म यो भाषा राम्ररी त जान्दिनँ, तर प्रयास गर्दैछु' भनेका छन्। त्यस्तै, बंगाली भाषाबाट कुरा सुरु गरेर उनले सबैको मन जितेका छन्। भिडियो बाहिरिनासाथ यो एआईको प्रयोग गरेर बनाइएको हो कि भन्ने शंका धेरैले गरे। तर मेयरले आफूले भिडियो खिच्दा गरेका गल्ती र हाँसोठट्टा समेटिएको अर्को रिल सार्वजनिक गरेपछि त्यो शंका मेटियो। उनका प्रवक्ता जो क्याल्भेलोका अनुसार यो कुनै एआई होइन, मेहनतको नतिजा हो।
चिनियाँ भाषाका जानकारले पनि उनको उच्चारणको खुलेर तारिफ गरेका छन्। सामाजिक सञ्जालमा मानिसहरूले 'भाइ पोकेमोन जस्तै सबै भाषा जम्मा गर्दै छन्', 'म आफ्नै मातृभाषा बंगाली बोल्छु, तर उहाँले मभन्दा राम्रो बोल्नुभयो' र 'उनी त नरोकिने भए, सबैसँग आफ्नै भाषामा बोल्नेछन्' जस्ता रमाइला प्रतिक्रिया दिएका छन्।
न्यूयोर्कमा विभिन्न देशबाट आएका लाखौं मानिस बसोबास गर्छन्। यसअघि पनि अरबी, हिन्दी र उर्दू भाषामा बोल्दै आएका मेयर ममदानीको यो नयाँ प्रयासले सहरका विभिन्न समुदायलाई झन् नजिक ल्याएको महसुस गराएको छ।
प्रकाशित: २ भाद्र २०८३ ०८:४८ मंगलबार