अन्तर्राष्ट्रिय

न्युजिल्यान्डको चुनावमा कसैको बहुमत नआउँदा सात सिट जितेको नयाँ दल निर्णायक

न्युजिल्यान्डको शनिबार सम्पन्न संसदीय चुनावमा कुनै पनि राजनीतिक दलले स्पष्ट जित हासिल गर्न सकेनन्।

प्रारम्भिक मतपरिणाममा दक्षिणपन्थी गठबन्धनले झिनो बहुमत पाए पनि अन्तिम नतिजा आउन बाँकी रहेकाले नयाँ सरकार कसले बनाउने भन्ने टुंगो लाग्न अझै केही साता लाग्ने भएको छ।

सत्तारुढ दक्षिणपन्थी गठबन्धन र विपक्षी वामपन्थी गठबन्धनबिच कडा प्रतिस्पर्धा देखिएको छ। चुनावमा प्रधानमन्त्री क्रिस्टोफर लक्सन नेतृत्वको नेसनल पार्टी र क्रिस हिपकिन्स नेतृत्वको लेबर पार्टी दुवैले अपेक्षाकृत कमजोर प्रदर्शन गरेका छन्। मतदाताले प्रमुख दलभन्दा साना राजनीतिक दललाई बढी समर्थन गरेपछि सरकार गठनका लागि उनीहरूको साथ महत्त्वपूर्ण हुने देखिएको छ।

यस चुनावमा ३८ वर्षीया किउले वोंग नेतृत्वको अपर्चुनिटी पार्टीले सबैको ध्यान खिचेको छ। पहिलो पटक संसदमा प्रवेश गरेको यस पार्टीले सात सिट जितेको छ। वोंगले कुनै एक पक्षमा मात्र सीमित नभई दुवै गठबन्धनसँग मिलेर सरकार गठन गर्न सक्ने बताएकी छन्। त्यसैले अन्तिम मतपरिणामपछि उनको पार्टी सरकार गठनमा निर्णायक बन्न सक्ने देखिएको छ।

चुनावमा नेसनल पार्टीले २९.२१ प्रतिशत र लेबर पार्टीले २९.३६ प्रतिशत पार्टी मत पाएका छन्। प्रारम्भिक नतिजाअनुसार नेसनलले ४२ र लेबरले ३६ सिट जितेका छन्। त्यस्तै, दक्षिणपन्थी लिबर्टेरियन एक्ट पार्टीले १३ र न्युजिल्यान्ड फर्स्टले १२ सिट जितेका छन्। वामपन्थी समूहअन्तर्गत ग्रिन्स पार्टीले १६ र आदिवासी अधिकारको पक्षमा रहेको ते पाटी माओरीले पाँच सिट पाएका छन्।

हालको गणनाअनुसार नेसनल नेतृत्वको दक्षिणपन्थी गठबन्धनसँग ६७ सिट छ। न्युजिल्यान्डको १३१ सदस्यीय संसदमा बहुमतका लागि कम्तीमा ६६ सिट आवश्यक पर्छ। यस हिसाबले दक्षिणपन्थी गठबन्धनले एक सिटको झिनो बहुमत पाएको छ। अर्कोतर्फ लेबरसहितको वामपन्थी गठबन्धनसँग ५७ सिट मात्र छन्। तर दक्षिणपन्थी गठबन्धनले सरकार सञ्चालनका लागि आफ्ना सहयोगी दलसँग सहमति जुटाउनुपर्नेछ।

निर्वाचन अधिकारीहरूले विदेशमा रहेका नागरिकसहितको करिब चार लाख विशेष मत गणना गर्न बाँकी छ। यो गणना पूरा भएपछि नोभेम्बर २७ मा अन्तिम नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ। विगतमा विशेष मतका कारण वामपन्थी दलले एक वा दुई सिट थप पाउने गरेका छन्। त्यसैले अन्तिम नतिजाले अहिलेको शक्ति सन्तुलन परिवर्तन गर्न सक्छ। दक्षिणपन्थी गठबन्धनको झिनो बहुमत गुमेमा अपर्चुनिटी पार्टीको समर्थन सरकार गठनका लागि महत्त्वपूर्ण हुन सक्छ।

प्रधानमन्त्री लक्सनले चुनावपछि आफ्नो पार्टीसँग सरकार गठन गर्ने सम्भावना अझै रहेको बताएका छन्। उनले विश्वव्यापी आर्थिक समस्याका कारण जनतामा सरकारप्रति असन्तुष्टि बढेको बताए। पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘मलाई लाग्छ, सबै जना राजनीतिबाट दिक्क भइसकेका छन्। त्यसैले आगामी तीन सातासम्म सबैले केही समय विश्राम लिऔं।’

चुनावमा नेसनल पार्टीका अर्थमन्त्री, रक्षामन्त्री, संसद्का सभामुख र महान्यायाधिवक्तासहित केही वरिष्ठ नेताले हार बेहोरेका छन्। अर्कोतर्फ, लक्सनले सरकार सञ्चालनका लागि आफ्ना सहयोगी दलका नीतिगत माग सम्बोधन गर्नुपर्ने अवस्था देखिएको छ।

न्युजिल्यान्डमा मतदाताले प्रधानमन्त्रीलाई प्रत्यक्ष मतदान गर्दैनन्। उनीहरूले एउटा मत आफूले रोजेको राजनीतिक दललाई र अर्को मत आफ्नो क्षेत्रको प्रतिनिधि छान्न दिन्छन्। ५६ लाख जनसंख्या रहेको न्युजिल्यान्डमा प्रत्येक तीन वर्षमा संसदीय चुनाव हुने गर्छ।

अन्तिम मतपरिणामपछि पनि सरकार गठनका लागि राजनीतिक दलहरूबिच वार्ता हुनेछ। कुनै पनि पक्षले आवश्यक समर्थन जुटाउन नसकेमा देशमा पुनः चुनाव गराउनुपर्ने अवस्था आउन सक्छ।

प्रकाशित: २२ कार्तिक २०८३ २१:४३ आइतबार