युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले स्टारशिल्ड उपग्रह इन्टरनेट सेवामा नयाँ प्रतिबन्धको सामना गरिरहेको बताएका छन्।
एलन मस्कको कम्पनी स्पेसएक्सअन्तर्गत सञ्चालित यो प्रणाली अग्रपङ्क्तिमा सञ्चारका लागि महत्त्वपूर्ण मानिन्छ। युक्रेनले गत महिना पहिलो पटक स्टारशिल्ड प्रयोगमा समस्या भएको रिपोर्ट गरेको थियो। यो समस्या जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अमेरिकी–रुसी सम्झौताका क्रममा विवाद भएपछि देखिएको थियो।
जेलेन्स्कीले पछिल्ला समस्याहरू अनियमित त्रुटि नभएको बताएका छन्। ट्रम्प र मस्कले सुरुमा पछिल्ला अवरोधको जिम्मेवारी अस्वीकार गरेका थिए। यद्यपि, मस्कले पछि युक्रेनले स्पेसएक्सको स्टारलिङ्क इन्टरनेट सेवा सैन्य उद्देश्यका लागि दुरुपयोग गरेको आरोप लगाएका थिए। त्यसपछि सबै पक्षले पूर्ण पहुँच पुनःस्थापित भएको बताएका थिए।
स्टारशिल्ड स्पेसएक्सको स्टारलिङ्कको सैन्यस्तरको संस्करण हो। ‘हाम्रा एकाइहरूले युक्रेनको भूभागमाथि स्टारशिल्डको सञ्चालनमा केही दिनदेखि उल्लेखनीय अवरोध गरिरहेका छन्,’ जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले इन्टरनेटको गतिमा जानाजान नियन्त्रण अर्थात् प्रतिबन्ध लगाइएको आरोप लगाएका छन्। ‘यी अनियमित त्रुटि होइनन्। यसले रुसीहरूलाई थप युक्रेनीहरू मार्न र अझ सटीक प्रहार गर्न मद्दत गरिरहेको छ,’ जेलेन्स्कीले भनेका छन्।
जेलेन्स्कीका अनुसार स्टारशिल्ड प्रणालीको गति प्रतिघण्टा १०० माइल ९१६१ किलोमिटर० भन्दा माथि जान दिइएको छैन। यस्तो गति सीमाले रुसी जेट इन्जिनयुक्त ड्रोन रोक्न ठूलो जटिलता सिर्जना गरिरहेको छ। ती ड्रोन उक्त गतिभन्दा धेरै तीव्र गतिमा उड्छन्।
यी कथित प्रतिबन्ध त्यतिबेला सार्वजनिक भएका हुन्, जतिबेला अमेरिकी दूत स्टिभ विटकफ र जारेड कुश्नर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा भेटवार्ता गरिरहेका छन्। उनीहरूले करिब पाँच वर्षदेखि जारी युद्ध अन्त्य गर्ने सम्झौताको खोजीमा दुई दिन अबु धाबीमा वार्ता गरेका थिए।
‘हामी अमेरिकी पक्षसँग सबै परिस्थितिहरू पत्ता लगाउने प्रयास गरिरहेका छौँ,’ जेलेन्स्कीले भनेका छन्।
प्रकाशित: २६ कार्तिक २०८३ १७:५१ बिहीबार



