अन्तर्राष्ट्रिय

चुनावअघि इरानमाथि आक्रमण गर्न चाहन्थे नेतान्याहु, ट्रम्पले रोके योजना

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गत अक्टोबरमा भएको चुनावभन्दा ठीकअघि इरानमाथि आक्रमण गर्ने योजना बनाएको इजरायली न्युज च्यानल–१२ ले दाबी गरेको छ। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले योजनाबारे जानकारी पाएपछि हस्तक्षेप गर्दै सम्भावित आक्रमण रोकेको रिपोर्टमा उल्लेख छ।

च्यानल–१२ ले शुक्रबार प्रकाशित गरेको रिपोर्टअनुसार नेतान्याहुले इजरायलको गुप्तचर एजेन्सी मोसादका प्रमुख रोमन गोफम्यानसँग मिलेर इरानमाथि कारबाहीको योजना बनाएका थिए।

रिपोर्टका अनुसार इजरायली सेना र सुरक्षा निकायका कैयौँ उच्च अधिकारी भने नेतान्याहुको योजनाको विपक्षमा थिए। इरानमाथि आक्रमण भए तेहरानले जवाफी कारबाही गर्न सक्ने र त्यसबाट दुई देशबीचको तनाव थप चर्किनुका साथै २७ अक्टोबरमा हुने चुनावमा समेत असर पर्न सक्ने उनीहरूको आशङ्का थियो।

उच्च सुरक्षा अधिकारीहरूको असहमतिकाबीच पनि नेतान्याहुले योजनामा काम अघि बढाइरहेको रिपोर्टमा दाबी गरिएको छ। यसै क्रममा इजरायलका एक सुरक्षा अधिकारीले हतारमा चालेको कदमबाट अमेरिकाले योजनाबारे जानकारी पाएको च्यानल–१२ को भनाइ छ। ती अधिकारीले के कदम चालेका थिए भन्नेबारे भने रिपोर्टले स्पष्ट पारेको छैन।

प्रधानमन्त्री नेतान्याहुको कार्यालयले भने उक्त समाचारलाई अस्वीकार गरेको छ। इजरायली चुनावअघि इरानमाथि आक्रमण गर्ने कुनै योजना नरहेको र यसबारे प्रधानमन्त्रीले त्यतिबेलै स्पष्ट पारेको कार्यालयको दाबी छ।

इरानमाथि सम्भावित कारबाहीका विषयमा नेतान्याहु र इजरायली सेना प्रमुख एयाल जमीरबीच मतभेद भएको खबर यसअघि पनि सार्वजनिक भएको थियो। च्यानल–१२ ले गत २५ अक्टोबरमा नेतान्याहुले सेनालाई यस्तो आदेश दिएको दाबी गरेको थियो, जसबाट इरानसँगको लडाइँ पुनः सुरु हुन सक्थ्यो।

तर सेना प्रमुख जमीरले उक्त आदेश कार्यान्वयन गर्न अस्वीकार गरेको बताइएको थियो। उनले कारबाहीबारे थप छलफल गर्नुपर्ने बताउँदै प्रधानमन्त्रीसँग लिखित आदेश र कानुनी स्वीकृतिसम्बन्धी दस्ताबेज मागेका थिए।

सेनाका केही उच्च अधिकारीलाई नेतान्याहुले चुनावी फाइदाका लागि इरानको मुद्दा प्रयोग गर्न खोजेको आशङ्का रहेको र चुनावअघि कुनै सैन्य कारबाही भए परिस्थिति नियन्त्रणबाहिर जान सक्ने चिन्ता रहेको पनि रिपोर्टमा उल्लेख छ।

नेतान्याहुले भने त्यतिबेला यस्ता खबरलाई निराधार भन्दै सेना प्रमुखसँग आफ्नो कुनै विवाद नरहेको बताएका थिए। यद्यपि, उनले सेना र मोसादलाई इरानको वर्तमान सरकार हटाउने दिशामा काम गर्न निर्देशन दिएको विषय स्वीकार गरेका थिए।

यसैबीच कतारको मध्यस्थतामा अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सम्भावित उपायबारे वार्ता जारी रहेको बताइएको छ। तर अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि पुनः सैन्य कारबाही गर्ने विकल्प पनि खुला राखेको समाचारहरू सार्वजनिक भइरहेका छन्।

च्यानल–१२ का अनुसार अमेरिकी मध्यावधि चुनावअघि नेतान्याहुले ट्रम्पलाई मतदान सकिएलगत्तै इरानमाथि पुनः आक्रमण गर्न आग्रह गरेका थिए। तर ट्रम्प अहिले इरानसँगको वार्तालाई थप समय दिन चाहिरहेको रिपोर्टमा उल्लेख छ।

वार्ता सफल भए इरानमाथि लगाइएका प्रतिबन्ध र अन्य दबाबहरू कम हुन सक्ने सम्भावनाप्रति नेतान्याहु चिन्तित रहेको पनि च्यानल–१२ को दाबी छ।

शुक्रबार ट्रम्पले अमेरिकाले इरानसँग वार्ता गरिरहेको र छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। उनले आफूले इरानलाई परमाणु हतियार विकास गर्नबाट नरोकेको भए अहिले इजरायल र समग्र मध्यपूर्वको सुरक्षा गम्भीर जोखिममा पर्ने दाबीसमेत गरेका छन्।

प्रकाशित: २२ कार्तिक २०८३ ०८:२० आइतबार