इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबार इजरायलमा परमाणु बम खसिरहेको कृत्रिम बुद्धिमत्ता (एआई) बाट बनाइएको तस्बिर पोस्ट गरेका छन्। उनले इरानले परमाणु हतियार हासिल गर्नु इजरायलका लागि ठूलो खतरा भएको बताएका छन्।
नेतन्याहूले उक्त तस्बिर इजरायली लेखक तथा राजनीतिक टिप्पणीकार युवाल ब्लुमबर्गको भनाइसँगै साझा गरेका हुन्। उक्त भनाइमा इजरायलको अस्तित्वमाथि खतरा रहेको उल्लेख छ।
इरानले परमाणु हतियार हासिल गरेमा अन्य कुनै पनि विषयको अर्थ नरहने र इरानबाट उत्पन्न हुने खतराका अगाडि अन्य सबै मुद्दा सामान्य हुने भनाइमा उल्लेख गरिएको छ।
तर, विपक्षी नेता यायर गोलानले नेतन्याहूले जनतामा डर फैलाइरहेको आरोप लगाएका छन्। इजरायलमा अक्टोबर २७ मा हुने निर्वाचनको दुई दिनअघि नेतन्याहूको उक्त पोस्ट सार्वजनिक भएको हो।
पोस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा इजरायलसँग इरानको खतरासँग जुध्न अब दुई वर्ष मात्रै बाँकी रहेको उल्लेख गरिएको छ। ट्रम्पको कार्यकाल सन् २०२८ मा समाप्त हुनेछ।
पोस्टमा इजरायलको आन्तरिक राजनीतिमा भइरहेका विवादले देशको सबैभन्दा ठूलो सुरक्षा चुनौतीबाट ध्यान अन्यत्र मोडिरहेको दाबी गरिएको छ।
इजरायलमा दुईवटा परमाणु बम खसे के हुन्छ ?
पोस्टमा कतार, अति धार्मिक यहुदी समुदाय, सेनामा अनिवार्य भर्ती र सुरक्षा चेतावनीजस्ता विषय उल्लेख गरिएको छ। तर, इजरायलमा दुईवटा परमाणु बम खसेमा यी विवादको कुनै अर्थ रहन्छ कि रहँदैन भन्ने प्रश्नसमेत उठाइएको छ।
नेतन्याहू सरकारमाथि सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण रोक्न असफल भएको घटनाको छानबिन नगरेको, केही यहुदी समुदायलाई सेनामा अनिवार्य भर्तीबाट छुट दिएको, सर्वोच्च अदालतको शक्ति घटाउन खोजेको तथा युद्ध अन्त्य गरी देशको सुरक्षा सुनिश्चित गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ।
निर्वाचन प्रचारका क्रममा नेतन्याहूले इरानबाट उत्पन्न हुने खतरालाई निरन्तर प्रमुख मुद्दा बनाउँदै आएका छन्। इरानलाई परमाणु हतियार हासिल गर्नबाट रोक्नु इजरायलको सबैभन्दा ठूलो प्राथमिकता हुनुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालबाट टाढा राख्नुपर्छ: विपक्षी
डेमोक्रेट्स पार्टीका अध्यक्ष यायर गोलानले नेतन्याहूको पोस्टको आलोचना गरेका छन्। इजरायली सञ्चारमाध्यम ‘वाई–नेट’का अनुसार उनले प्रधानमन्त्री र उनको वरपरका व्यक्तिहरूको सन्तुलन बिग्रिएको तथा उनीहरूमाथि दबाब बढिरहेको बताएका छन्।
गोलानले भने, ‘इजरायलका प्रधानमन्त्रीले तेल अभिभमा परमाणु बम खसिरहेको तस्बिर पोस्ट गरेका छन्। म उनलाई सामाजिक सञ्जालबाट टाढा राख्न माग गर्छु।’
निर्वाचनको सन्दर्भ उल्लेख गर्दै उनले अक्टोबर २७ मा डर फैलाउनेहरूलाई सत्ताबाट हटाएर इजरायलमा सुरक्षा र विवेक पुनःस्थापित गर्ने बताए।
इजरायलमा अक्टोबर २७ मा निर्वाचन हुँदै
इजरायलमा अक्टोबर २७ मा निर्वाचन हुँदैछ। गाजा युद्ध तथा लेबनान र इरानसँगको द्वन्द्वपछि हुन लागेको यो पहिलो निर्वाचन हो। यसलाई नेतन्याहूको नेतृत्व र उनको सरकारको कामकारबाहीप्रतिको जनमत सङ्ग्रहका रूपमा हेरिएको छ।
नेतन्याहूको लिकुड पार्टीको नेतृत्वमा रहेको गठबन्धन पुनः सत्तामा फर्किने प्रयासमा छ। निर्वाचनमा सुरक्षा, युद्ध र सरकारका नीतिहरू प्रमुख मुद्दाका रूपमा रहेका छन्।
प्रकाशित: ९ कार्तिक २०८३ ०८:३८ सोमबार