आवासको बढ्दो मूल्य र जीवनयापनको लागतविरुद्ध स्पेनभरि भएको देशव्यापी प्रदर्शनका क्रममा म्याड्रिड र बार्सिलोनामा प्रहरी तथा प्रदर्शनकारीबीच झडप भएको छ।
झडप नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र रबरका गोली प्रयोग गरेको छ। प्रदर्शनमा राजधानी म्याड्रिडमा करिब एक लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी सहभागी भएको अधिकारीहरूले बताएका छन्।
सन् २०१२ यताकै पहिलो राष्ट्रव्यापी २४ घण्टे हडतालका क्रममा लाखौँ मानिस सडकमा उत्रिएका थिए। प्रदर्शनका क्रममा मास्क र हुड लगाएका केही समूहले प्रहरीमाथि वस्तु प्रहार गर्नुका साथै आगजनी गरेका थिए। बार्सिलोनामा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ।
आगामी नोभेम्बर २९ मा हुने मध्यावधि निर्वाचनअघि भएको प्रदर्शनलाई सरकारप्रतिको जनअसन्तुष्टिको सङ्केतका रूपमा हेरिएको छ। प्रदर्शनकारीले आवासको मूल्य नियन्त्रण र सर्वसाधारणलाई सुलभ आवास उपलब्ध गराउन माग गरेका छन्।
म्याड्रिडमा प्रदर्शनकारीले घरको आकारका प्लेकार्ड बोकेर ‘हामीसँग घर छैन’ भन्दै नाराबाजी गरेका थिए। बार्सिलोनामा पनि हजारौँले भाडा नियन्त्रणको माग गरेका थिए। प्रदर्शनकारीका अनुसार आम्दानीको ठूलो हिस्सा घरभाडामै खर्च गर्नुपर्ने अवस्था छ।
देशका विभिन्न सहरमा भएका प्रदर्शनले सार्वजनिक यातायात र केही व्यावसायिक गतिविधिमा समेत असर पारेको थियो। मजदुर सङ्गठन युजिटीले हडताललाई ठूलो सफलता भने पनि रोजगारदाता सङ्गठनले अधिकांश क्षेत्रमा कामकाज सामान्य रहेको भन्दै यसलाई असफल दाबी गरेको छ।
प्रधानमन्त्री पेड्रो सान्चेजले सन् २०२७ मा हुनुपर्ने निर्वाचन यसै महिना अगाडि सारेका थिए। उनको अल्पमत सरकारले आवाससम्बन्धी प्रस्तावित सुधारका उपायलाई संसद्बाट पारित गराउन नसकेपछि निर्वाचन घोषणा गरिएको हो। श्रमिक सङ्गठनहरूले आवास सङ्कट समाधानका लागि सरकारमाथि दबाब बढाउन हडताल आह्वान गरेका हुन्।
प्रकाशित: २६ कार्तिक २०८३ १६:१७ बिहीबार



