अन्तर्राष्ट्रिय

गाजामा मानवीय संकटप्रति राष्ट्रसंघको चिन्ता

गाजामा जारी इजरायली हवाई तथा सैन्य आक्रमण र वेस्ट बैंकमा हिंसाप्रति संयुक्त राष्ट्रसंघका मानवीय अधिकारीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले सप्ताहन्तमा भएका इजरायली हवाई आक्रमण तथा अन्य सैन्य कारबाहीका कारण सर्वसाधारण प्रभावित भएको भन्दै चिन्ता जनाएको हो। 

ओसीएचएका अनुसार, पछिल्ला आक्रमणमा एक बालकसमेत मारिएको र देर अल(बालाहस्थित अल अक्सा अस्पताल परिसरमा रहेका केही सामग्रीमा समेत क्षति पुगेको रिपोर्ट प्राप्त भएको छ। ‘सर्वसाधारण र अस्पतालजस्ता नागरिक संरचनाको सधैं संरक्षण हुनुपर्छ। उनीहरूमाथि आक्रमण गर्नु वा सैन्य प्रयोजनका लागि प्रयोग गर्नु हुँदैन,’ ओसीएचएले भनेको छ। 

यसैबीच, आगामी वर्षायामलाई ध्यानमा राख्दै गाजामा बाढीको जोखिम न्यूनीकरण गर्न मानवीय साझेदारहरूले तयारी अघि बढाइरहेका छन्। गाजाका नगरपालिकाहरूले सयौँ स्थानमा बाढीको जोखिम पहिचान गरी आवश्यकताहरूको नक्सांकन गरेको ओसीएचएले जनाएको छ। 

बाढीको जोखिम कम गर्न नाला सफा गर्ने, भग्नावशेष तथा फोहोर हटाउने, जमिन सम्याउने, पानी तान्ने पम्प तयारी अवस्थामा राख्ने र आवश्यक उपकरण अग्रिम रूपमा भण्डारण गर्ने काम आवश्यक रहेको बताइएको छ। 

तर, पर्याप्त बजेटको अभाव, गाजामा प्रवेश गर्ने राहत सामग्रीको स्वीकृति र परिमाणमा लगाइएको सीमितता तथा इन्जिन तेल, स्पेयर पार्ट्स र भारी मेसिनरीको अभावका कारण तयारीका काम प्रभावित भइरहेका छन्। 

गाजाको अधिकांश भूभाग अझै पहुँचबाहिर रहेकाले राहत तथा तयारीका प्रयास थप चुनौतीपूर्ण बनेका छन्। बाढीको जोखिम कम भएका र विस्थापितहरूका लागि पाल स्थापना गर्न सकिने क्षेत्रसमेत ठूलो हिस्सामा पहुँच निषेध गरिएको ओसीएचएले जनाएको छ। 

यता, वेस्ट बैंकमा पनि हिंसाका घटना सप्ताहन्तमा जारी रहे। मानवीय साझेदारहरूका अनुसार विभिन्न क्षेत्रमा चोरी, आगजनी, तोडफोड, आक्रमण तथा झडपका घटनामा मानिसहरू घाइते हुनुका साथै सम्पत्तिमा क्षति पुगेको छ।

रामल्लाहको अल मुघय्यिर क्षेत्रमा इजरायली सुरक्षाकर्मीको साथमा आएका व्यक्तिहरूले लगातार तीन दिन आक्रमण गरेको रिपोर्ट आएको छ। ती घटनामा करिब एक दर्जन प्यालेस्टिनी घाइते भएका छन् भने कतिपय अवस्थामा मानिस तथा सवारीसाधनको आवतजावतसमेत अवरुद्ध भएको बताइएको छ। 

आक्रमणका कारण एम्बुलेन्सको आवतजावतसमेत प्रभावित भएको ओसीएचएले जनाएको छ। 

प्रकाशित: १६ भाद्र २०८३ ११:४६ मंगलबार