यौन अपराधमा दोषी ठहरिएका जेफ्री एपस्टाइनको सम्पत्तिसँग जोडिएका नयाँ कागजात बाहिर आएका छन्। कागजात अनुसार सन् २००७ को सजायपछि पनि एपस्टाइन प्रमुख राजनीतिज्ञ र व्यापारिक नेताहरूसँग सम्पर्कमा भएको खुलेको छ। ती नाममा टेस्लाका मालिक एलन मस्क, पेपालका सह–संस्थापक पिटर थिएल र ट्रम्पका सहयोगी स्टिभ ब्यानन पनि छन्।
अमेरिकी सदन निरीक्षण तथा सरकारी सुधार समितिमा ८ हजार ५४४ कागजात पेस भएका छन्। त्यसमा दैनिक तालिका, उडान लग, वित्तीय रेकर्ड र फोन सन्देश छन्।
कागजातअनुसार डिसेम्बर सन् २०१४ मा मस्कको एपस्टाइनको निजी टापुमा यात्राको योजना थियो। एउटा नोटमा लेखिएको थियो, ‘के यो अझै पनि कार्डमा छ?’ त्यसमा सन् २०१७ मा पिटर थिएलसँगको खाजा र सन् २०१९ मा स्टिभ ब्याननसँगको नास्ताको उल्लेख छ। यी भेटघाटहरू एपस्टाइनको गिरफ्तारी हुनुभन्दा महिनाअघि भएका थिए।
रेकर्डमा प्रिन्स एन्ड्रयूसँग जोडिएका मसाजका भुक्तानीहरू पनि समावेश छन्। साथै एपस्टाइन, घिसलेन म्याक्सवेल, प्रिन्स एन्ड्रयू र अन्यको यात्रा विवरण दिने सन् २००० देखिको उडान लगहरू पनि छन्।
डेमोक्र्याटिक सांसदहरूले भनेका छन् कि कागजातहरूले एपस्टाइनले सन् २००७ को विवादास्पद बिन्ती सम्झौता पछि पनि शक्तिशाली र धनी व्यक्तिहरूसँग घनिष्ठ सम्बन्ध राखेको देखाउँछन्। एपस्टाइनमाथि दर्जनौं नाबालिग केटीहरूलाई यौन दुर्व्यवहार गरेको आरोप थियो। तर फ्लोरिडामा सन् २००७ को बिन्ती सम्झौतामा उनले वेश्यावृत्तिको एउटा मुद्दामा मात्र आरोप स्वीकार गरेका थिए।
परिणामस्वरूप १३ महिनाको जेल सजाय भयो। अन्य गम्भीर आरोपहरू खारेज गरियो। सम्झौतामा उनका सम्भावित सहयोगीहरू वा ठूला सञ्जालहरूको अनुसन्धान नहुने उल्लेख थियो।
यसैबिच रिपब्लिकन नेताहरूले डेमोक्र्याटहरूले राजनीतिक लाभका लागि छानेर कागजात जारी गरेको आरोप लगाए। पीडितहरूलाई जोगाउन धेरै कागजात बन्द गरिएका छन्। आगामी हप्ता थप खुलासा हुन सक्ने जनाइएको छ। एपस्टाइनले सन् २०१९ को अन्त्यमा जेलमा आत्महत्या गरेका थिए। एजेन्सी
प्रकाशित: ११ आश्विन २०८२ ०९:४५ शनिबार