अन्तर्राष्ट्रिय

‘हाइटीमा सशस्त्र हिंसाबाट साढे तीन वर्षमै १६ हजार भन्दा बढी मानिस मारिए’

द्वन्द्वग्रस्त मुलुक हाइटीमा सन् २०२२ यता सशस्त्र हिंसाका कारण १६ हजार भन्दा बढी मानिस मारिएको  संयुक्त राष्ट्र सङ्घले जनाएको छ। राष्ट्र सङ्घले हाइटीमा अझै यो भन्दा खराब अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ। ‘हाइटीमा मानव अधिकारको अवस्था विकराल बनिरहेको छ,’ राष्ट्र सङ्घका अधिकार प्रमुख भोल्कर टर्कले भने,‘साथै दुर्व्यवहार र हिंसा बढिरहेको छ। मार्चदेखि अझै तीव्र रूपमा हिंसा बढेको छ।’ 

गरिबीले ग्रस्त हाइटीले लामो समयदेखि राजनीतिक अस्थिरता भोगिरहेको छ। त्यही पृष्ठभूमिमा हत्या, बलात्कार, लुटपाट र अपहरणजन्य हिंसात्मक आपराधिक गिरोहबाट मुलुक आक्रान्त बनेको छ। 

सन् २०२२ जनवरी–१ देखि सशस्त्र हिंसामा १६ हजारभन्दा बढी मानिस मारिएको र करिब सात हजार मानिसहरू घाइते भएको जनाउँदै अधिकार प्रमुख टर्कले गिरोह र हिंसामा निगरानी सुरु गरिरहेको जेनेभामा रहेको संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई बताएका छन्। 

गिरोहहरूले राजधानी पोर्ट–अ–प्रिन्स भन्दा बाहिर डर फैलाउँदै हिंसाले ‘व्यापक क्षेत्रलाई अस्थिर पार्ने’ खतरा रहेको उनले बताए। 

न्यूयोर्कमा मङगलबार संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले हाइटीमा संयुक्त राष्ट्र समर्थित सुरक्षा मिसनलाई सैन्य सेनासहित  पूर्ण बलको रूपमा रूपान्तरण गर्ने प्रस्ताव पारित गरेको छ। नयाँ फोर्समा अब प्रहरी अधिकारी र सैनिकहरू सहित अधिकतम पाँच हजार ५०० वर्दीधारी कर्मचारीहरू हुनसक्ने जनाइएको छ। 

प्रकाशित: १६ आश्विन २०८२ १९:४१ बिहीबार