अमेरिकी न्याय विभागले यौन दुराचारी जेफ्री एपस्टाइनसँग जोडिएका फाइलहरू आंशिक रूपमा सार्वजनिक गरेको छ। फाइलहरू सार्वजनिक गरिएसँगै ठुला राजनीतिज्ञ, कलाकार, लब्धप्रतिष्ठित व्यक्तिसमेत उनीसँग जोडिएको तथ्य एकातिर उजागर भएको छ भने अर्काेतिर कतिपय विषय रहस्यमै राखिएको देखिएको छ।
चर्काे दबावपछि, राष्ट्रपति डोनल्ड ट्रम्पले गत नोभेम्बरमा हस्ताक्षर गरेको ‘एपस्टाइन फाइल्स ट्रान्सपरेन्सी एक्ट’ ले डिसेम्बर १० सम्म सबै ‘अनक्लासिफाइड’ दस्ताबेज जारी गर्न विभागलाई निर्देशन दिएको थियो।
यो कानुनअनुसार न्याय विभागले एपस्टाइनको यौन अपराध, मानव तस्करी र मृत्युसँग जोडिएका सबै कागजात सार्वजनिक गर्नुपर्ने थियो। तर शुक्रबार सार्वजनिक कागजातलाई अझै पूर्ण पारदर्शी र सन्तोषजनक मानिएको छैन। सार्वजनिक दस्ताबेजले अमेरिकी राजनीति र समाजमा ठुलो हलचल ल्याएको छ। यो दस्ताबेजले एपस्टाइन प्रकरणलाई फेरि अन्तर्राष्ट्रियस्तरमा चर्चाको विषय बनाएको छ तर पीडित र आलोचकहरूले यसलाई ‘अपर्याप्त र ढिलासुस्तीपूर्ण’ भनेका छन्।
चाखलाग्दो बिषय के छ भने विभागले जारी गरेका दस्ताबेजहरुमा कतिपय भाग कालोमसीले छोपिएका छ, जसले गर्दा एपस्टाइन प्रकरणको फाइल ‘खुल्यो पनि, खुलेन पनि’ जस्तो स्थिति बनेको छ।
सार्वजनिक फाइलहरूमा एफबिआईमा परेका पुराना उजुरीहरू, एपस्टाइनको घर, टापु र निजी विमानका तस्बिरहरू, उडान अभिलेख र सम्पर्क सूचीहरू समावेश छन्। जसमध्ये धेरै सामग्री यसअघि नै सार्वजनिक वा चुहावट भइसकेकाले नयाँ जानकारीको अभाव भएको आरोप कतिपयको छ।
सार्वजनिक फाइलसँगै पूर्वराष्ट्रपति बिल क्लिन्टनका दर्जनौं तस्बिर बाहिरिएका छन्, जसमध्ये स्विमिङ पुलमा आराम गर्दै गरेको एउटा तस्बिर सबैभन्दा बढी चर्चित बनेको छ। त्यसमा एक युवतीको अनुहार लुकाइएको छ। विभागले पीडित भनेर उल्लेख गरेको छ। क्लिन्टन घिस्लेन म्याक्सवेलसँग स्विमिङ पुलमा, पप स्टार माइकल ज्याक्सनसँग र अन्य सामाजिक कार्यक्रमहरूमा समेत देखिएका छन्।
यसैगरी राष्ट्रपति ट्रम्प, अर्बपति बिल गेट्स, तत्कालीन बेलायती राजकुमार एन्ड्रयु, उनकी पूर्वपत्नी सारा फर्गुसन, हलिउड अभिनेता केभिन स्पेसी र क्रिस टकर, संगीतकार मिक ज्यागर र डायना रोस, अर्बपति रिचर्ड ब्रान्सन जस्ता चर्चित व्यक्तिका तस्बिरहरू पनि फाइलसँगै सार्वजनिक भएका छन् तर यी तस्बिर मुख्य रूपमा सामाजिक भेटघाट वा पार्टीका छन् र यौन अपराधसँग प्रत्यक्ष जोडिएका प्रमाणित भएका छैनन्। तर यी तस्बिरहरूले एपस्टाइनको शक्तिशाली ‘संगत’लाई उजागर गरेका छन्, जसले गर्दा यी व्यक्तिहरूमाथि थप प्रश्न उठेका छन्।
सबैभन्दा बढी प्रतीक्षा गरिएको ‘क्लाइन्ट लिस्ट’ अर्थात् एपस्टाइनका ग्राहकहरूको सूची भने अझै गोप्य राखिएको छ। विभागले यसअघि नै यस्तो छुट्टै सूची अस्तित्वमा नभएको दाबी गरेको थियो तर आलोचकहरूले यसलाई बहाना मात्र भनेका छन्।
सार्वजनिक फाइलहरूमा १२ सयभन्दा बढी पीडितहरूको नाम र पहिचान नखुल्ने गरी ‘कालो’ पोतिएको छ। उपन्यायमन्त्री टोड ब्लान्चले पीडितहरूको गोपनीयता, चलिरहेको अनुसन्धान र राष्ट्रिय सुरक्षाका कारण रिड्याक्सन (कालो पार्ने) कार्य भएको दाबी गरेका छन् तर उनको दाबीलाई पर्याप्त मानिएको छैन। जानकारका अनुसार विभागको वेबसाइटबाट कम्तीमा १६ वटा फाइल हटाइएका छन, जसमा ट्रम्पका तस्बिरहरू रहेको मानिएको छ। यसले झन् शंका र आक्रोश बढाएको छ।
यो अपूर्ण सार्वजनिकीकरणको अमेरिका र विश्वभर कडा आलोचना भइरहेको छ। रिपब्लिकन र डेमोक्र्याट दुवै दलका सांसदले विभागको यो कदमलाई कानुनको उल्लंघन भनेका छन्। ओरेगनका सिनेटर जेफ मर्कलीले ट्रम्प प्रशासनमाथि कानुन पालना नगरेको आरोप लगाएका छन्। मर्कलीका अनुसार महत्त्वपूर्ण प्रमाणहरू लुकाइएका कारण पीडितले यसबाट न्याय पाउने छैनन्।
यो प्रकरणले विश्वव्यापी रूपमा शक्तिशाली व्यक्तिहरुको आचरण र गोपनीयताको मुद्दालाई फेरि बाहिर ल्याएको छ। विभागले यी दस्ताबेज पहिलो चरणमा सार्वजनिक गरिएको र थप चाँडै जारी हुने दाबी गरेको छ। तर आलोचकहरूले यो राजनीतिक दबाब र मध्यावधि चुनावी फाइदाका लागि मात्र गरिएको आरोप लगाएका छन्। क्लिन्टनका प्रवक्ताले यसलाई राजनीतिप्रेरित भनेका छन्। ट्रम्प पक्षले भने यसलाई पारदर्शिताको कदम दाबी गरेको छ।
दस्ताबेजहरू सार्वजनिक गरिएकै दिन लाखौंले एकसाथ हेर्न खोज्दा वेबसाइटमा गम्भीर समस्या देखिएको थियो। यसले यो विषयप्रति आम चासो कति छ भन्ने स्पष्ट हुन्छ।
एपस्टाइन फाइल के हो?
जेफ्री एपस्टाइन एक अमेरिकी लगानीकर्ता तथा दोषी प्रमाणित यौन अपराधी थिए। उनीमाथि नाबालिग केटीहरूमाथि यौन शोषण, तस्करी र अन्य अपराधको आरोप लगाइएको थियो। उनी सन् २०१९ मा अमेरिकी जेलमा रहस्यमय ढंगले मृत भेटिएका थिए, जसलाई आत्महत्या भनिए पनि कपितयले षड्यन्त्र ठानेका छन्।
‘एपस्टाइन फाइल’ भनेको उनको जीवन, अपराधहरू, संघीय अनुसन्धान, मृत्यु र संगतसँग जोडिएका दस्ताबेजहरूको संग्रह हो। यसमा एफबिआईका पुराना उजुरीहरू, गुप्तचर रिपोर्टहरू, उडान अभिलेखहरू (जसमा चर्चित व्यक्तिहरूको यात्रा विवरण छ), सम्पर्क सूचीहरू, घर तथा निजी टापु (लिटल सेन्ट जेम्स) का तस्बिर, अडियो तथा भिडियो र अन्य प्रमाण समावेश छन्।
यी फाइलहरू मुख्य रूपमा एपस्टाइनकी पूर्वप्रेमिका तथा सहयोगी घिस्लेन म्याक्सवेलसँग जोडिएका सामग्रीबाट प्राप्त भएका हुन्, जसलाई सन् २०२२ मा दोषी ठहराइएको थियो। एपस्टाइनको शक्तिशाली तथा चर्चित व्यक्तिहरूसँगको घनिष्ठ सम्बन्धका कारण यो प्रकरण लामो समय गोप्य राख्ने प्रयास भएको मानिन्छ।
यो फाइलले अमेरिकी न्याय प्रणालीमा उच्च पदस्थ व्यक्तिहरूको संलग्नता र दुरुपयोगको मुद्दालाई बाहिर ल्याएको छ। अहिले सर्वसाधारणले पारदर्शिताको माग गरिरहेका छन्। नयाँ कानुनले यसलाई सार्वजनिक गर्न बाध्य बनाए पनि पूर्ण खुलासा नहुँदा यो विवादास्पद र झन् रहस्यमयी बनेको छ।
(एजेन्सीको सहयोगमा)
प्रकाशित: ७ पुस २०८२ ०९:२९ सोमबार