इरानका नयाँ सर्वोच्च नेता आयतोल्लाह मोज्तबा खामेनीको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनी बेहोस अवस्थामा रहेको दाबी गरिएको छ।
बेलायती सञ्चारमाध्यम द टाइम्सले हालै प्रकाशित रिपोर्टमा उल्लेख गरे अनुसार मोज्तबा खामेनीलाई इरानको पवित्र सहर कोममा रहेको एक अस्पतालमा उपचार भइरहेको छ।
दाबी अनुसार अमेरिका र इजरायलका गुप्तचर एजेन्सीहरूले खाडी देशहरूसँग साझा गरेको कूटनीतिक नोटमा यो जानकारी उल्लेख छ। फेब्रुअरी २८ मा भएको संयुक्त अमेरिकी–इजरायली हवाई आक्रमणमा मोज्तबा खामेनी गम्भीर घाइते भएका थिए।
उक्त आक्रमणमा उनका बुबा तथा इरानका पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनी (८६ वर्षीय) को मृत्यु भएको थियो। उक्त हमलामा मोज्तबाको परिवारका अन्य सदस्यहरू (आमा, श्रीमती, छोरा लगायत) पनि मारिएका थिए।
द टाइम्सले मोज्तबा खामेनी चोटपटकका कारण गम्भीर अवस्थामा रहेको भन्दै उनी हाल देश चलाउने वा निर्णय प्रक्रियामा संलग्न हुने स्थितिमा नरहेको भनेको छ।
नोटमा उनी तेहरानबाट करिब ८७ माइल (लगभग १४० किलोमिटर) दक्षिणमा अवस्थित कोम सहरमा उपचाररत रहेको बताइएको छ। अमेरिकी र इजरायली गुप्तचर एजेन्सीहरूले यसअघि नै उनको स्थान र अवस्थाबारे जानकारी प्राप्त गरे पनि हालसम्म सार्वजनिक रूपमा खुलासा गरेका थिएनन्।
केही रिपोर्टहरूमा मोज्तबाको खुट्टा, अनुहार र अन्य भागमा चोट लागेको उल्लेख छ। यद्यपि, इरानी अधिकारीहरूले यी दाबीलाई अस्वीकार गर्दै उनी सुरक्षित र स्वस्थ रहेको बताउँदै आएका छन्। मोज्तबा खामेनीको सार्वजनिक उपस्थिति शून्य छ।
यसले थप संशय बढाएको छ। इरानी पक्षले लिखित वक्तव्य वा एआई भिडियो जारी गरेर सक्रिय देखाउने प्रयास गरेको छ। तर पश्चिमी गुप्तचर रिपोर्टहरूले उनलाई निर्णय प्रक्रियाबाट बाहिर रहेको बताएका छन्।
प्रकाशित: २४ चैत्र २०८२ १२:३६ मंगलबार



