भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच कुराकानी भएको छ।
प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्, ‘राष्ट्रपति जेलेन्स्कीसँग कुरा गर्न र हालैका घटनाक्रममा उनको विचार सुन्न पाउँदा म खुसी छु। मैले उनलाई द्वन्द्वको प्रारम्भिक र शान्तिपूर्ण समाधानको आवश्यकता र यसमा भारतको अडानबारे जानकारी गराएँ। भारत यस सम्बन्धमा हरेक सम्भव योगदान दिन र युक्रेनसँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न प्रतिबद्ध छ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अगस्ट १५ मा अलास्कामा भेट्ने कार्यक्रम भएकाले प्रधानमन्त्री मोदी र जेलेन्स्कीबिचको वार्ताको समय महत्त्वपूर्ण मानिएको छ। जेलेन्स्कीले एक्समा एउटा भिडियो पोस्ट गर्दै रुसलाई कुनै पनि हालतमा युक्रेन विभाजन गर्न दिइने छैन भनेका थिए। रुसलाई जमिन दिएर नभई न्यायपूर्ण तरिकाले युद्ध अन्त्य गरेर मात्र शान्ति प्राप्त गर्न सकिने अडान उनको छ।
कुराकानीपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले लेखेका छन्, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मेरो लामो कुराकानी भयो। हामीले द्विपक्षीय सहयोग र विश्वव्यापी कूटनीतिबारे विस्तृत रूपमा छलफल गर्यौँ।’ उनले अगाडि भनेका छन्, ‘मैले उनलाई हामीमाथि रुसी आक्रमणको बारेमा बताएँ, विशेष गरी हिजो जापोरिजियाको बस पार्कमा भएको आक्रमणको बारेमा, जहाँ रुसले जानाजानी एउटा सहरमा बम विस्फोट गराएको थियो। दर्जनौँ मानिस घाइते भएका थिए।’
जेलेन्स्कीका अनुसार भारतले युक्रेनको शान्ति प्रयासलाई समर्थन गरिरहेको छ। भारत युक्रेनसँग सम्बन्धित हरेक निर्णय युक्रेनको सहभागितामा लिनुपर्छ भन्ने कुरामा सहमत रहेको उनको दाबी छ। जेलेन्स्कीले मोदीसँग भारतले रुसमाथि प्रतिबन्ध लगाउने र रुसी तेल खरिद सीमित गर्न अनुरोध पनि गरेका छन्। यसबाट रुसको युद्ध क्षमता कम हुने उनको अपेक्षा छ। एजेन्सी
प्रकाशित: २६ श्रावण २०८२ २०:४९ सोमबार



