अन्तर्राष्ट्रिय

अविछिन्न प्रधानमन्त्रीमा मोदीको कीर्तिमान

सबैभन्दा लामो समयसम्म अविछिन्न प्रधानमन्त्री रहेर नरेन्द्र मोदीले भारतमा नयाँ रेकर्ड कायम गरेका छन्।

यसअघि यो कीर्तिमान भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूसँग थियो। २०१४ मे २६ मा पहिलोपटक प्रधानमन्त्रीको शपथ लिएदेखि बुधबारसम्म मोदीले लगातार प्रधानमन्त्रित्वको चार हजार ३९९ दिन पूरा गरेका छन्।

नेहरूले निर्वाचित प्रधानमन्त्रीका रूपमा चार हजार ३९८ दिन भारतको नेतृत्व गरेका थिए।

यसरी नेहरूको रेकर्ड तोड्दै मोदी भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म लगातार निर्वाचित नेता बनेका छन्। हाल उनी लगातार तेस्रो कार्यकाल प्रधानमन्त्रीको भूमिकामा छन्।

यसैबिच भारतको केन्द्रीय मन्त्रिपरिषद्ले प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशको इतिहासमा सबैभन्दा लामो समय निर्वाचित प्रधानमन्त्री बनेकोमा बधाई दिएको छ।

मन्त्रिपरिषद्ले प्रधानमन्त्री मोदीको नेतृत्वमा गरिएका कामप्रति कृतज्ञता व्यक्त गर्दै बधाई प्रस्ताव पारित गरेको छ।

प्रस्तावमा गरिब तथा सीमान्तकृत समुदायको कल्याण र सशक्तीकरणका लागि गरिएको कार्यको प्रशंसा गरिएको छ।

मन्त्रिपरिषद्ले मोदीका नीतिका कारण २५ करोडभन्दा बढी नागरिक गरिबीबाट बाहिरिन सफल भएको दाबी गर्दै समावेशी विकास र सामाजिक न्याय प्रवर्द्धनमा उनको योगदानको सराहना गरेको छ।

साथै, राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउने, भारतको हितको रक्षा गर्ने तथा ‘विकसित भारत’ निर्माण गर्ने उनको संकल्पप्रति मन्त्रिपरिषद्ले पूर्ण समर्थन व्यक्त गरेको छ।

प्रकाशित: २७ जेष्ठ २०८३ २०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App