भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ८०औँ स्वतन्त्रता दिवसका अवसरमा लाल किल्लाबाट राष्ट्रलाई सम्बोधन गर्दै एक करोड युवालाई एआई तालिम दिने घोषणा गरेका छन्।
सो अवसरमा उनले नक्सलवाद, आत्मनिर्भर भारत, ऊर्जा र २०४७ सम्म विकसित भारत बनाउनेलगायत लक्ष्यबारे पनि जोड दिएर बताए। मोदीले भारतले पछिल्ला वर्षमा विभिन्न क्षेत्रमा गरेको प्रगतिको चर्चा गर्दै अब देश साना सपनामा सीमित भएर बस्न नहुने बताए। उनले ठुला सपना र बलियो संकल्पबाट मात्रै भारतलाई नयाँ उचाइमा पुर्याउन सकिने सुनाए।
उनले नक्सलवादको विषयमा बोल्दै सशस्त्र नक्सलवाद कमजोर भए पनि त्यसको विचारधारा फरक रूपमा सक्रिय हुन सक्ने चेतावनी दिए। उनले भने, ‘हामीले नक्सलवाद अन्त्य गर्ने संकल्प गरेका थियौँ। धेरै क्षेत्र नक्सलमुक्त भएका छन्। सशस्त्र नक्सल गए, तर मानसिक नक्सलहरू अवसर खोजिरहेका छन्।’ उनका अनुसार यस्ता समूहले समाजलाई गलत बाटोमा लैजान सक्छन्। त्यसैले त्यस्ता गतिविधि र विचारलाई समयमै पहिचान गर्नुपर्ने आजको आवश्यकता हो।
मोदीले स्वतन्त्रता दिवसको अवसरमा युवाका लागि ठुलो घोषणा गर्दै आगामी एक वर्षमा भारतका एक करोड युवालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम दिने बताए। उनले प्रविधि र नवप्रवर्तनलाई भारतको विकासको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेका हुन्। मोदीले थप भने, ‘अब समय डेटा सेन्टर र एआईको हो। हामी भारतलाई नवप्रवर्तनको केन्द्र बनाउन चाहन्छौँ। त्यसैले एक करोड युवालाई एआईको तालिम दिइनेछ।’
मोदीले भारत स्वतन्त्र भएको १०० वर्ष पूरा हुने सन् २०४७ सम्म देशलाई विकसित राष्ट्र बनाउने लक्ष्य दोहोर्याए। उनले भने, ‘आज भारतले ठुलो सपना देखेको छ। त्यो सपना हो, २०४७ मा स्वतन्त्रताको १०० वर्ष पुग्दा विकसित भारत बनाउने।’ यो लक्ष्य पूरा गर्न देशका नागरिकको सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ थियो। उनले विगतमा दशकौँ लाग्ने काम अब केही वर्षमै पूरा गर्नुपर्ने बताए।
उनले भारतको कार्यशैली र सोचमा पनि परिवर्तन आवश्यक रहेको कुरामा जोड दिए। उनका अनुसार विकासको गति बढाउन पुरानो सोच र काम गर्ने शैलीबाट बाहिर निस्कनुपर्छ। मोदीले भारतले अन्य देशमा अत्यधिक निर्भर भएर बस्न नहुने बताए। उनले आत्मनिर्भरतालाई देशको दीर्घकालीन हितसँग जोडेर व्याख्या गरेका हुन्। चीनतर्फ लक्षित गर्दै मोदीले भने, ‘भारत अब अरू देशमा निर्भर भएर बस्नु हुँदैन। हामी आत्मनिर्भर बन्नुपर्छ। संसारमा धेरै कुरा सस्तो र छिटो पाइन्छ, तर त्यसले हाम्रो आफ्नै क्षमता निर्माण गर्दैन। त्यसैले हामीले आफ्नो क्षमता बढाउनुपर्छ।’
मोदीले राजनीतिक स्थिरता, संविधान, न्याय व्यवस्था र उत्पादन क्षमताका कारण विश्वले भारतको क्षमता पहिचान गर्न थालेको दाबी गरे। उनले दाबी गर्दै भने, ‘आज भारतमा राजनीतिक जनादेश छ, देशमा स्थिर सरकार छ, संविधान छ र बलियो न्याय व्यवस्था छ। त्यसैले अब विश्वले हाम्रो क्षमतालाई चिन्न थालेको छ।’ भारतीय औषधि, कपडा, मेसिनलगायत उत्पादन विश्वका विभिन्न बजारमा पुगिरहेको उनको भनाइ छ।
ऊर्जा सुरक्षाको चर्चा गर्दै मोदीले पाइपमार्फत ग्यास आपूर्ति विस्तार भएको बताए। उनका अनुसार २०१४ अघि भारतका करिब ७० सहरमा मात्रै पाइपबाट ग्यास आपूर्ति हुने व्यवस्था थियो। अहिले यो सङ्ख्या ७०० सहरसम्म पुगेको छ। मोदीले अनुसार २०१४ अघि करिब २० देखि २२ लाख घरमा पाइपबाट ग्यास पुग्ने गरेकोमा अहिले एक करोड ७५ लाख घरमा यस्तो सुविधा पुगेको सुनाए।
उनले सौर्य ऊर्जाको उत्पादन क्षमता बढेको पनि बताए। उनका अनुसार भारतको सौर्य ऊर्जा क्षमता अहिले १६० गिगावाट पुगेको छ। मोदीले ‘प्रधानमन्त्री सूर्य घर’ योजनाबाट लाखौँ घरमा सौर्य ऊर्जाको प्रयोग बढेको र केही घरको विद्युत् बिल शून्यसम्म पुगेको बताए। केही घरले अतिरिक्त विद्युत् बिक्री गरेर आम्दानीसमेत गर्न थालेको उनको भनाइ थियो।
उनका अनुसार संकल्प बलियो भए कठिन परिस्थिति र विपत्तिबाट बाहिर निस्कने क्षमता पनि बढ्छ। कोरोना महामारी र रुस तथा युक्रेन युद्धका क्रममा देखिएका चुनौतीको चर्चा गर्दै उनले कठिन परिस्थितिबाट भारत अगाडि बढिरहेको दाबी गरेका हुन्। एजेन्सी
प्रकाशित: ३० श्रावण २०८३ १०:०९ शनिबार