अन्तर्राष्ट्रिय

इरानले विमान खसालेपछि बेपत्ता अमेरिकी पाइलट अझैँ भेटिएनन्, खोजी जारी

दक्षिणी इरानमा एफ-१५ लडाकु विमान खसालिएपछि अमेरिकी सेनाले बेपत्ता चालक दलका सदस्यको खोजी तीव्र पारेको जानकारी दिएको छ। 

विमानमा रहेका एक पाइलटको भने उद्धार गरिएको भने पनि अर्का फेला परेका छैनन्। यसैबिच इरानले हराएका अमेरिकी वायु सैनिक समात्न सहयोग गर्ने नागरिकलाई ६० हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ।

इरानले अमेरिकी ए-१० वार्थोग विमान समेत खसालेको दाबी गरेको छ, जुन पहिलो विमानको खोजी र उद्धारमा खटिएको थियो। वार्थोगका पाइलट भने सकुशल बाहिर निस्कन सफल भए। उनको उद्धार गरिएको सीबीएसले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरू युद्धमा रहेको र यो आक्रमणले इरानसँगको वार्तामा कुनै असर नगर्ने बताएका छन्। जानकारी अनुसार अनुसार इजरायल र इरानबिच युद्ध सुरु भएयता १३ अमेरिकी सैनिक मारिएका छन् भने ३६५ जना घाइते भएका छन्।

पूर्व अमेरिकी वायु सेना कमान्डरका अनुसार ब्ल्याकहक हेलिकप्टरद्वारा विशेष खोजी र उद्धार युनिट परिचालन गरिएको छ। हेलिकप्टर पुग्न नसक्ने क्षेत्रमा प्यारा-रेस्क्यु जम्पर्सहरू एसी-१३० गनशिपबाट हाम फालेर पैदल नै उद्धारमा लाग्ने उनी बताउँछन्। उनका अनुसार यस्तो काम ‘डरलाग्दो र अत्यन्त खतरनाक’ हुन्छ। यी उद्धारकर्मीलाई ‘स्विस आर्मी नाइफ’ पनि भनिन्छ।

च्याथम हाउसकी निर्देशक लरेल र्‍यापका अनुसार अमेरिकी टोलीलाई कब्जा गर्नु इरानका लागि ‘ठुलो पुरस्कार’ र ‘शक्तिशाली बार्गेनिङ चिप’ हुनेछ। उनी भन्छिन्, ‘यदि ती तस्बिरहरू अगाडि आउँछन् भने, ती अमेरिकी दृष्टिकोणबाट अविश्वसनीय रूपमा परिवर्तन हुनेछन्।’ पाइलटहरू समातिएमा युद्धको समर्थनमा कमी आउन सक्ने र द्वन्द्व झन् जटिल बन्ने उनको विश्लेषण छ।

शत्रु पक्षले अमेरिकी लडाकु विमान खसाल्नु दुर्लभ मानिन्छ। यसअघि मार्च महिनामा कुवेतमा तीन वटा एफ-१५ विमान खसालिएका थिए भने मार्च १२ मा इराकमा भएको दुर्घटनामा ६ सैनिकको मृत्यु भएको थियो। एजेन्सी

प्रकाशित: २१ चैत्र २०८२ १४:३९ शनिबार