एक शताब्दीभन्दा लामो समयपछि स्पेनमा देखिएको खग्रास सूर्यग्रहण हेर्न बुधबार सहरदेखि ग्रामीण क्षेत्रसम्म लाखौँ मानिस भेला भए। सूर्य, चन्द्रमा र पृथ्वी एकै सीधा रेखामा परेपछि केही समयका लागि दिनमै अँध्यारो छाएको अद्भुत दृश्य हेर्न स्पेनसँगै पोर्चुगल, आइसल्यान्ड र अन्य क्षेत्रबाट समेत मानिस पुगेका थिए।
खग्रास सूर्यग्रहणको प्रतीक्षामा मानिसहरू ल्यानका कुर्सी, छाता र सूर्य हेर्न प्रयोग गरिने विशेष चश्मासहित खुला स्थानमा भेला भएका थिए। आकाश सुरुमा बिस्तारै र पछि तीव्र रूपमा अँध्यारिँदै गएपछि भीडले ताली बजाउँदै खुसी व्यक्त गरेको थियो। चन्द्रमाले सूर्यलाई पूर्ण रूपमा ढाकेपछि केही समयका लागि दिन रातजस्तै देखिएको थियो।
उत्तरपूर्वी स्पेनको प्राचीन रोमनकालीन पहाडी सहर मेडिनसेलीबाट ग्रहण हेरेकी भाषा शिक्षिका रोजा सेलिबर्टीले प्रत्यक्ष दृश्यलाई अविस्मरणीय अनुभवका रूपमा वर्णन गरिन्। उनले जति तस्बिर वा भिडियो हेरे पनि प्रत्यक्ष खग्रास सूर्यग्रहणको अनुभवसँग त्यसको तुलना हुन नसक्ने बताइन्।
खग्रास सूर्यग्रहणको मार्ग उत्तरी तथा मध्य स्पेन र पोर्चुगलको फराकिलो क्षेत्रमा फैलिएको थियो। त्यसपछि ग्रहणको छायाँ भूमध्यसागरतर्फ अघि बढेको थियो। यसअघि ग्रहणले ग्रिनल्यान्ड र आइसल्यान्डका केही भूभागसमेत पार गरेको थियो।
चन्द्रमाले सूर्यको प्रकाशलाई पूर्ण रूपमा छेक्ने अवस्थालाई खग्रास सूर्यग्रहण भनिन्छ। यसको अधिकतम अवधि आइसल्यान्डको पश्चिमी तटमा दुई मिनेट ३० सेकेन्डभन्दा कम रहने अनुमान गरिएको थियो । पोर्चुगल हुँदै स्पेन प्रवेश गरेपछि सूर्यास्त नजिकिँदै जाँदा खग्रास अवस्थाको अवधि एक मिनेट वा त्यसभन्दा कम भएको थियो। त्यसपछि खग्रास सूर्यग्रहण भूमध्यसागरमा समाप्त भएको थियो।
स्पेनी अधिकारीहरूले ग्रहण हेर्न कम्तीमा पाँच लाख अतिरिक्त पर्यटक आउने अनुमान गरेका थिए। खग्रास सूर्यग्रहण देखिने मार्गमा पर्ने ए कोरुना, बिलबाओ र स्यान्टियागो डे कम्पोस्टेलालगायत उत्तरी सहरमा होटलको माग निकै बढेको थियो।
यस दुर्लभ खगोलीय घटनाका लागि स्पेनले सार्वजनिक सुरक्षामा समेत विशेष तयारी गरेको थियो। ग्रहण देखिने समयमा देशका धेरै क्षेत्रमा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो भने केही क्षेत्रमा डढेलोको जोखिमसमेत कायम थियो। कम जनघनत्व भएका भित्री क्षेत्रमा करिब ३५० वटा आधिकारिक अवलोकनस्थल तयार पारिएको थियो। आन्तरिक मन्त्रालयका अनुसार अवलोकनस्थल र त्यहाँ पुग्ने मार्गमा ३३ हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो।
केही साताअघि मात्र स्पेनको इतिहासकै विनाशकारीमध्ये एक डढेलोले करिब ५०० वर्गकिलोमिटर क्षेत्र प्रभावित बनाएको थियो। मध्य स्पेनको अविला क्षेत्रमा दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सार्नुपरेको थियो। दक्षिणी तथा मध्य स्पेनका केही क्षेत्रमा अझै साना डढेलोहरू सक्रिय थिए।
आइसल्यान्डको राजधानी रेक्जाविकमा बादल लागेको भए पनि सयौँ मानिस ऐतिहासिक हलग्रिमस्किर्कजा चर्चअगाडि भेला भएका थिए। उनीहरूले रङ्गीन वर्षाती पोसाक लगाएर खग्रास सूर्यग्रहणको प्रतीक्षा गरेका थिए।
वर्षाका कारण सूर्यको आकृति स्पष्ट देखिन नसके पनि खग्रास अवस्थाको चरम समयमा अचानक अँध्यारो छाएको थियो। सडकका बत्ती निभेझैँ देखिएको त्यस क्षणमा मानिसका मोबाइल फोनका प्रकाश मात्र स्पष्ट देखिन्थे। भीडले अँध्यारोको अनुभव गर्दै उत्साह व्यक्त गरेको थियो। अझै कडा वर्षा भइरहेका बेला पहिलो प्रकाश फर्किएपछि भीडले थप उत्साहका साथ प्रतिक्रिया जनाएको थियो।
सूर्यको केही भाग मात्र ढाकिने आंशिक सूर्यग्रहण हेर्नसमेत विशेष सुरक्षा चश्मा आवश्यक भएकाले स्पेनभर यसको माग अत्यधिक बढेको थियो। यस्ता चश्मामा आँखालाई क्षति पुर्याउन सक्ने सौर्य विकिरण रोक्ने विशेष फिल्टर प्रयोग गरिन्छ।
स्पेनका सुपरमार्केट, डिपार्टमेन्ट स्टोर, सङ्ग्रहालय र तारामण्डल केन्द्रहरूले महिनौँदेखि ग्रहण चश्मा बिक्री तथा वितरण गरेका थिए। धेरै फार्मेसीमा भने बुधबारअघि नै चश्माको मौज्दात सकिएको थियो। मङ्गलबार साँझ म्याड्रिडको एक फोटो पसलबाहिर चश्मा किन्न लामो लाइन लागेको थियो।
ग्रिनल्यान्डनजिकैको समुद्रमा एमएस स्पिट्सबर्गेनका कप्तान सेभेरे रुडले १२६ यात्रुलाई खग्रास सूर्यग्रहण देखाउन जहाजलाई उपयुक्त स्थानमा राख्ने प्रयास गरेका थिए। पूर्वी ग्रिनल्यान्डको राइपफजर्ड क्षेत्रमा जहाजको स्थानबारे यात्रुले दिनभर कप्तानसँग चासो राखेका थिए।
‘म सक्दो प्रयास गर्नेछु, म आफ्नो सुपरम्यान शक्ति प्रयोग गर्नेछु’, रुडले भनेका थिए। आर्कटिक वृत्तभन्दा उत्तरतर्फको १७ दिने यात्रामा रहेका यात्रुले २४ घण्टासम्म उज्यालो रहने क्षेत्रको अनुभव गरिरहेका थिए। त्यस्तो अवस्थामा अचानक करिब दुई मिनेट अँध्यारो हुने खग्रास सूर्यग्रहण उनीहरूका लागि विशेष आकर्षण बनेको थियो।
रुडका अनुसार जहाजमा ग्रहणको प्रतीक्षा क्रिसमसको पूर्वसन्ध्याजस्तै उत्साहपूर्ण थियो। उनले बिहानको खाजा खान जाँदासमेत सबै यात्रु निकै उत्साहित देखिएको बताए।
ग्रहणका कारण आइसल्यान्डको राजधानी रेक्जाविकमा बुधबार रातको होटलको औसत मूल्य सामान्यभन्दा निकै बढेको थियो। आइसल्यान्डमा सन् १९५४ पछि पहिलो खग्रास सूर्यग्रहण देखिँदै थियो भने सन् १४३३ पछि पहिलोपटक राजधानी रेक्जाविकबाट खग्रास ग्रहण देखिने अवसर आएको थियो।
डाटा समूह लाइटहाउस इन्टेलिजेन्सका अनुसार होटलको मूल्य सन् २०२५ को सोही अवधिको तुलनामा झन्डै दोब्बर भएको थियो। धेरै पर्यटकले वर्षौंअघि नै होटल बुक गरेका थिए। यद्यपि ग्रहणको समयमा आइसल्यान्डका धेरै भागमा बादल लागेको थियो।
व्यस्त पर्यटकीय मौसमकै बीच आइसल्यान्डमा थप २० हजार विदेशी पर्यटक आउने अधिकारीहरूको अनुमान थियो। चार लाखभन्दा कम जनसङ्ख्या रहेको देशमा यस्तो आगमनले पर्यटन क्षेत्रमा उल्लेखनीय चाप सिर्जना गरेको थियो।
रेक्क्यानेसबेर नगरपालिकास्थित ७० कोठाको होटल केफ्लाभिक पूर्ण रूपमा भरिएको थियो। त्यहाँ बसेका पाहुनाले करिब एक मिनेट ४५ सेकेन्डसम्म खग्रास सूर्यग्रहण हेर्ने अपेक्षा गरेका थिए। होटलका मालिक तथा व्यवस्थापक स्टेइनथर जोन्सनले ग्रहणको समयमा होटलको माग अत्यधिक बढेको र धेरै पाहुना अघिल्लो वर्षदेखि नै बुकिङका लागि सम्पर्कमा आएको बताए।
उनले सन् १९८६ मा होटल खोलेयता यस्तो ठूलो आकर्षण पहिलोपटक देखेको बताए। त्यस वर्ष अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र सोभियत नेता मिखाइल गोर्बाचेभबीच रेक्जाविकमा शिखर वार्ता भएको थियो। ‘रेगन र गोर्बाचेभबाहेक ग्रहण नै सबैभन्दा ठूलो आकर्षण हो’, उनले मुस्कुराउँदै भने।
बेलायतका विभिन्न क्षेत्रमा सूर्य ९० प्रतिशतभन्दा बढी ढाकिएको थियो। सन् १९९९ पछि बेलायतबाट देखिएको सबैभन्दा उल्लेखनीय सूर्यग्रहण हेर्न मानिसहरू खुला मैदान, पार्क र पहाडी क्षेत्रमा भेला भएका थिए। लन्डनको थेम्स नदी र मध्य सहरको दृश्य देखिने ग्रीनविच पार्कमा पनि ठूलो भीड जम्मा भएको थियो। चन्द्रमा सूर्यअगाडि आएपछि आकाश अस्वाभाविक रूपमा खैरो र अँध्यारो बनेको थियो।
भेनेजुएलामा बाल्यकालमा पहिलो ग्रहण हेरेकी भेरोनिका ओरोस्कोले छिमेकीसँग बाँड्न श्याम्पेनको बोतल खोलेकी थिइन्। उनले त्यतिबेला सूर्य फेरि उदाउने हो कि होइन भन्ने डर लागेको सम्झँदै विज्ञानले त्यसको कारण बुझाउने गरेको बताइन्। ४१ वर्षको उमेरमा फेरि ग्रहण हेर्दा पनि अनुभव उत्तिकै जादुमय लागेको उनले बताइन्।
मङ्गलबार २४ वर्ष पुगेकी अजा लिलिटले ग्रहणलाई आफूले पाएको ‘ब्रह्माण्डबाट आएको जन्मदिनको उपहार’ जस्तो लागेको बताइन् । दुर्लभ खगोलीय घटनाले आफू ब्रह्माण्डको विशालताका तुलनामा कति सानो रहेछु भन्ने महसुस गराएको उनको भनाइ थियो।
प्रकाशित: २८ श्रावण २०८३ १३:१६ बिहीबार