अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याटिक पार्टीले जितेपछि पूर्वराष्ट्रपति बाराक ओबामाले जनताले विभाजनको राजनीति नचाहेको स्पष्ट सन्देश दिएको बताएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले चुनावमा ठुलो झट्का बेहोरेपछि बुधबार ओबामाको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो। पछिल्लो मतपरिणामअनुसार डेमोक्र्याटिक पार्टीले सिनेटमा बहुमत हासिल गरेको छ भने प्रतिनिधि सभाको अन्तिम नतिजा आउने क्रम जारी छ।
ओबामाले अमेरिकी जनताले विभाजनको राजनीति नभई मानिसहरूलाई एकसाथ ल्याउने राजनीति चाहेको बताएका छन्। उनले जनताले आफूहरूले सामना गरिरहेका चुनौतीको ठोस समाधान दिन सक्ने नेताको अपेक्षा गरेको पनि उल्लेख गरे।
ओबामाले एक्समा भनेका छन्, ‘आज राति अमेरिकी जनताले स्पष्ट सन्देश दिएका छन्–उनीहरू मानिसहरूलाई विभाजन गर्नुको सट्टा एकसाथ ल्याउने राजनीति चाहन्छन् र आफूहरूले सामना गरिरहेका चुनौतीको ठोस समाधान प्रस्ताव गर्ने नेताहरू चाहन्छन्।’
उनले चुनावी नतिजा देशका विभिन्न क्षेत्रमा उत्कृष्ट उम्मेदवारहरू अगाडि बढेकाले सम्भव भएको बताएका छन्। ती उम्मेदवार फरक पृष्ठभूमिबाट आएका र विभिन्न राजनीतिक विचारको प्रतिनिधित्व गरे पनि साझा मूल्यमान्यता, सार्वजनिक सेवाप्रतिको विश्वास र आफ्ना जिल्ला तथा राज्यका जनतालाई प्राथमिकता दिने प्रतिबद्धताले जोडिएको उनको भनाइ छ।
ओबामाले चुनाव सहज र व्यवस्थित बनाउन भूमिका खेल्ने दुवै दलका हजारौं निर्वाचन अधिकारी तथा स्वयंसेवकप्रति पनि आभार व्यक्त गरेका छन्। उनीहरूको योगदानले अमेरिकी लोकतन्त्रको महत्त्वपूर्ण प्रक्रिया पूरा गर्न सहयोग पुगेको उनले बताएका छन्।
उनले ट्रम्प प्रशासनको कार्यकाल अझै दुई वर्ष बाँकी रहेको उल्लेख गर्दै अब परिवर्तनका लागि सक्रिय रूपमा काम गर्नुपर्ने बताएका छन्। ‘हामीसँग जहाँ शक्ति छ, त्यहाँ परिवर्तन गर्नुपर्छ, थप क्षति रोक्नुपर्छ र भविष्यका लागि बलियो जग बसाल्नुपर्छ,’ उनले थप भनेका छन्।
अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याटिक पार्टीको सिनेट विजय र रिपब्लिकन पार्टीको कमजोर प्रदर्शनलाई ट्रम्प प्रशासनका लागि ठुलो राजनीतिक धक्का मानिएको छ।
प्रकाशित: १८ कार्तिक २०८३ ११:५१ बुधबार