अन्तर्राष्ट्रिय

भारतका एयरलाइन्सले बढाए टिकटको मूल्य

मध्यपूर्व तनाव र अमेरिका– इजरायल र इरानबीच जारी युद्धका कारण जेट इन्धन (एटीएफ) को मूल्यमा वृद्धि भएपछि भारतीय एयर कम्पनीहरुले टिकट महँगो बनाएका छन्।

एयर इन्डिया र इन्डिगो पछि अकासा एयरलाइन्सले पनि आइतबारदेखि लागू हुने सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरूमा टिकटको मूल्य बढाएको हो।

अकासा एयरले मार्च १५ राति १२ः०१ बजेपछि बुक गरिएका टिकटहरूमा १९९ रुपैयाँदेखि १,३०० रुपैयाँसम्मको अतिरिक्त अधिभार लाग्ने बताएको छ। यो अधिभार 'प्रति क्षेत्र' अर्थात् एकतर्फी यात्राको लागि लगाइनेछ र यसको रकम उडान अवधिमा निर्भर गर्ने कम्पनीले जनाएको छ।

बढ्दो इन्धन मूल्यको बोझ कम गर्न, देशको सबैभन्दा ठूलो वायुसेवा कम्पनी, इन्डिगोले शुक्रबार घरेलु र अन्तर्राष्ट्रिय उडान टिकटमा भारु ४२५ देखि २,३०० सम्मको अधिभार बढाएको थियो। थप इन्धन शुल्कसँगै नयाँ टिकट मूल्यहरू मार्च १४ मा बिहान १२ बजेदेखि लागू गरिएको थियो।

यस्तै, एयर इन्डियाले मार्च १२ देखि घरेलु उडान टिकटमा भारु ३९९ इन्धन अधिभार लगाउँदै आएको छ। एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानहरूको भाडा पनि लगभग १५ प्रतिशतले बढाएको छ।  

जेट इन्धनको मूल्यमा निरन्तर वृद्धि भइरहेको कारण विश्वभरका प्रमुख एयरलाइन्सहरूले पनि टिकटको मूल्य बढाएका छन्। धेरै एयरलाइन्सहरूले आफ्ना विमानहरू ग्राउन्डेड गर्ने योजना पनि बनाइरहेका छन्।

फेब्रुअरी २८ मा इरान–इजरायल युद्ध सुरु भएदेखि र होर्मुज मार्ग अवरुद्ध भएदेखि तेल आपूर्ति शृङ्खला गम्भीर रूपमा अवरुद्ध भएको छ। कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य हालै प्रति ब्यारेल १२० डलर पुगेको थियो, जुन शनिबार प्रति ब्यारेल १०३ डलर मा झरेको छ।

यसैबीच, द्वन्द्व सुरु भएदेखि धेरै देशहरूमा जेट इन्धनको मूल्य दोब्बर भएको छ। युद्धपूर्व जेट इन्धनको मूल्य प्रति ब्यारेल लगभग ८५ डलर देखि ९० डलरसम्म थियो, तर अहिले प्रति ब्यारेल १५० डलर देखि २०० डलर सम्म पुगेको छ। मध्य पूर्व तनावका कारण विश्वभर ४०,००० भन्दा बढी उडानहरू रद्द भएका छन्। एजेन्सी

प्रकाशित: ३० फाल्गुन २०८२ १६:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App