अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव : कच्चा तेलको मूल्य सय डलर नाघ्यो

संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण थालेपछि उत्पन्न मध्यपूर्वी तनावका कारण अन्तर्राष्ट्रिय तेल बजारमा तीव्र उतारचढाव देखिएको छ। 

अन्तर्राष्ट्रिय बजारको प्रमुख सूचक ब्रेण्ट क्रुड आइतबार एकै दिन झण्डै २० प्रतिशतले उकालो लाग्दै प्रतिबारेल ११४ डलरसम्म पुगेको थियो। सोमबार बिहानसम्म भने केही घटेर करिब १०७ दशमलव ५० डलर आसपासमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि पहिलोपटक कच्चा तेलको मूल्य १०० डलर नाघेको थियो। विश्लेषकहरूका अनुसार युद्धले विश्व ऊर्जा आपूर्ति अवरुद्ध हुने आशंका बढेपछि बजारमा मूल्य आकस्मिक रूपमा उकालो लागेको हो। 

तेल आपूर्तिमा अवरोधको मुख्य कारण मध्यपूर्वको संवेदनशील समुद्री मार्ग स्टेट अफ हर्मुजमा इरानले जहाज आवतजावत लगभग रोक्नु हो। विश्वको झण्डै पाँचौं भाग तेल यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकाले यस क्षेत्रमा तनाव बढ्दा विश्व ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने गरेको छ। 

उता इरानमाथि आक्रमणपछि उसले क्षेत्रीय ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै प्रतिकार गर्ने चेतावनी दिएको छ। इरानको प्रभावशाली सुरक्षा निकायले अमेरिकाले र इजरायलले आक्रमण जारी राखे तेलको मूल्य २०० डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ। 

यसैबीच खाडी क्षेत्रका प्रमुख उत्पादक राष्ट्र इराक, युएई र कुवेतले पनि जहाज ढुवानी अवरुद्ध भएपछि उत्पादन कटौती गरेका छन्। समुद्री मार्ग अवरुद्ध हुँदा उत्पादन गरिएको तेल निर्यात गर्न कठिन भएको कारण उत्पादन घटाउनुपरेको उनीहरुको भनाइ छ। 

इजरायलले शनिबार इरानको तेल भण्डारण तथा प्रशोधन संरचनामाथि हवाई आक्रमण गरेको इरानी सरकारी सञ्चारमाध्यमहरूले बताएका छन्। तेहरान र अल्बोर्ज प्रान्तका चार तेल भण्डारण केन्द्र तथा एक उत्पादन स्थानान्तरण केन्द्रमा आक्रमण भएको उल्लेख गरिएको छ। 

तेल मूल्यमा आएको उछालको प्रभाव विश्व शेयर बजारमा समेत देखिएको छ। जापानको निक्केइ सूचक प्रारम्भिक कारोबारमै ७ प्रतिशतभन्दा बढीले झरेको छ भने दक्षिण कोरियाको ८ प्रतिशतभन्दा बढीले घटेको छ। हङकङको पनि करिब ३ प्रतिशतले ओरालो लागेको छ।

विश्लेषकहरूले युद्ध छोटो समयमै अन्त्य भए बजार पुनः स्थिर हुन सक्ने बताउँदै आएका छन्। तर खाडी क्षेत्रको ऊर्जा उत्पादन र ढुवानी लामो समयसम्म प्रभावित भए तेलको मूल्य अझै चुलिने र विश्व अर्थतन्त्रमा व्यापक असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

प्रकाशित: २५ फाल्गुन २०८२ १४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App