मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको छ।
युद्धको प्रत्यक्ष प्रभाव विश्व ऊर्जा बजारमा देखिएको छ। तेलको मूल्य तीव्र रूपमा बढ्दै गइरहेको छ। यसको असर सेयर बजारमा पनि परेको छ। प्रमुख बजार सूचकहरू लगातार घटिरहेका छन् र लगानीकर्तामा अनिश्चितता बढेको छ।
स्पेन को केन्द्रीय बैङ्कले अर्थतन्त्रमा ‘उल्लेखनीय मन्दी’ आउन सक्ने चेतावनी दिएको छ, साथै वित्तीय बजारमा अस्थिरता देखिन सक्ने सङ्केत गरेको छ। त्यहाँ इन्धन र ताप ऊर्जाको मूल्य बढ्दा मुद्रास्फीति पनि बढेको छ।
इरानमा भने युद्धका कारण डिजिटल मुद्राको प्रयोग उल्लेखनीय रूपमा बढेको छ। विज्ञहरूका अनुसार यसलाई अन्तर्राष्ट्रिय प्रतिबन्धहरू छल्न र बढ्दो महँगीबाट जोगिन वैकल्पिक वित्तीय माध्यमका रूपमा प्रयोग गरिएको छ।
उता, हवाई उडान क्षेत्रमा सुरुवाती दिनको तुलनामा उडान रद्द हुने दर घटे पनि कुल उडान सङ्ख्या अझै कम छ, जसले पर्यटन र व्यापारिक यात्रामा असर पारिरहेको छ।
ऊर्जा सङ्कट अझ गहिरिँदै जाँदा जर्मनीले आवश्यक परे कोइला–आधारित विद्युत् उत्पादनलाई अपेक्षाभन्दा लामो समयसम्म सञ्चालनमा राख्न सक्ने सङ्केत दिएको छ। इजिप्टले ऊर्जा खर्च नियन्त्रण गर्न पसल, रेष्टुरेन्ट र किनमेल केन्द्रहरूलाई राति ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। इथियोपियामा पेट्रोल अभावका कारण मानिसहरू घण्टौँ लामो लाइनमा बस्न बाध्य भएका छन्, कतिपयले त गाडीमै रात बिताएका छन्।
थाइल्याण्डले इरानसँग हर्मुज जलमार्ग हुँदै आफ्ना तेल ट्याङ्करहरू सुरक्षित रूपमा सञ्चालन गर्न सहमति गरेको छ। इरानले अमेरिका–इजरायललाई सहयोग गर्ने देशसँग सम्बन्धित जहाजहरूलाई भने फिर्ता पठाएको छ।
यसैगरी, केन्या मा हजारौँ टन चिया मुख्य बन्दरगाहमै अड्किएको छ, जसले निर्यात व्यापारमा ठूलो असर पारेको छ। समग्रमा, मध्यपूर्व युद्धले ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार, वित्तीय बजार, यातायात र दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा व्यापक प्रभाव पार्दै विश्व अर्थतन्त्रमा अस्थिरता र अनिश्चितता बढाएको स्पष्ट देखिन्छ।
प्रकाशित: १४ चैत्र २०८२ १४:२३ शनिबार