अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पको पहलमा रूसको नियन्त्रणमा रहेको युक्रेनी सहर ओलेस्कीमा मानवीय सहायता पुर्याउन स्थानीय युद्धविराम गर्ने सहमति भएको छ।
युक्रेन, रूस र अमेरिकी वार्ताकारबिच भएको सहमतिअनुसार युद्धविराम मंगलबारदेखि सुरु हुने र केही दिनसम्म कायम रहनेछ।
ह्वाइट हाउसका अनुसार मेलानियाले गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाका क्रममा ओलेस्कीको अवस्थाबारे जानकारी पाएपछि यस विषयमा पहल थालेकी थिइन्। उनले युद्धविरामका सर्त तय गर्न रूस तथा युक्रेनका नेतृत्वसँग प्रत्यक्ष छलफल गरेकी थिइन्।
युक्रेनका प्रमुख वार्ताकार दिमिट्रो लुबिनेट्सले सहमति कार्यान्वयन गर्न चुनौतीपूर्ण हुने बताएका छन्। उनका अनुसार सुरुमा सहर जाने बाटोमा रहेका बारुदी सुरुङ हटाइनेछ। त्यसपछि खाद्यान्न, औषधि र अन्य अत्यावश्यक सामग्री पुर्याइनेछ। सहर छाड्न चाहने नागरिकलाई सुरक्षित रूपमा बाहिर निकाल्ने व्यवस्था पनि गरिनेछ।
लुबिनेट्सले मेलानिया ट्रम्पलाई धन्यवाद दिँदै यो पहलले भविष्यमा अन्य मानवीय अभियान सञ्चालन गर्न पनि बाटो खोल्न सक्ने बताए। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि सहमतिको स्वागत गरेका छन्। उनले स्थानीय युद्धविरामले युक्रेनमा व्यापक र दिगो शान्ति स्थापनाका लागि सहयोग गर्ने आशा व्यक्त गरेका छन्।
रूसका जनरल स्टाफ प्रमुख भ्यालेरी गेरासिमोभले स्थानीय समय अनुसार मंगलबार बिहान ४ बजेदेखि खेरसन क्षेत्रमा गोलीबारी रोक्ने बताएका छन्। रूसी अधिकारीका अनुसार मानवीय सहायता बोकेका सवारीसाधनको सुरक्षित आवागमन सुनिश्चित गर्न पनि सहयोग गरिनेछ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सहर छाड्न चाहने नागरिकलाई सुरक्षित रूपमा बाहिर जान दिइने बताए। तर उनीहरूलाई रूस वा युक्रेनको नियन्त्रणमा रहेको कुन क्षेत्रमा लगिनेछ भन्नेबारे उनले स्पष्ट पारेनन्।
दक्षिणी युक्रेनको खेरसन क्षेत्रमा पर्ने ओलेस्कीमा लामो समयदेखि खाद्यान्न र औषधिको अभाव छ। सहरमा बिजुली र पानीको सुविधा नहुँदा नागरिकको अवस्था झन् कठिन बनेको छ। कुनै समय करिब २४ हजार जनसंख्या रहेको यो सहरलाई रूसी सेनाले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेकै बेला कब्जा गरेको थियो। सन् २०२३ मा काखोभ्का बाँध भत्किएपछि आएको बाढीले पनि सहरमा ठुलो क्षति पुर्याएको थियो।
मेलानियाले डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा युद्धका कारण प्रभावित बालबालिकाको सहयोग र परिवार पुनर्मिलनलाई प्राथमिकता दिँदै आएकी छन्। उनका सल्लाहकारका अनुसार उनले युद्धका कारण छुट्टिएका करिब तीन दर्जन बालबालिकालाई परिवारसँग पुनर्मिलन गराउन सहयोग गरेकी छन्।
ओलेस्कीमा भएको सहमतिले तत्काल मानवीय सहायता पुर्याउन र नागरिकलाई सुरक्षित स्थानमा सार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यद्यपि युद्धविराम कसरी अनुगमन गरिनेछ र नागरिकलाई बाहिर निकाल्ने काम कति समयसम्म चल्नेछ भन्नेबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
प्रकाशित: ७ कार्तिक २०८३ १०:५८ शनिबार