अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्यूयोर्क शहरका मेयर जोहरान ममदानीबीच सोमबार न्यूयोर्कस्थित मेयरको निवासमा भेटवार्ता भएको छ।
बन्द ढोकाभित्र करिब एक घण्टा भएको छलफलपछि दुवै जना सँगै बाहिरिएका थिए।
भेटपछि ट्रम्प र ममदानी केहीबेर अनौपचारिक रूपमा कुराकानी गर्दै देखिएका थिए। त्यसपछि उनीहरू मेयरको नाम अंकित लेक्चररनजिक पुगेका थिए, जहाँ राष्ट्रपतिको औपचारिक रूपमा पत्रकार सम्मेलनमा सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम नभए पनि संयुक्त रूपमा सञ्चारकर्मीसँग कुराकानी गरिएको थियो।
यसअघि ह्वाइट हाउसमा भएका दुई भेटमा जस्तै यसपटकको भेट पनि तुलनात्मक रूपमा न्यानो र सम्मानजनक देखिएको थियो। दुवै पक्षबीच भएको छलफलले केही विषयमा सहकार्यको सम्भावना देखाएको समेत बताइएको छ।
यसै क्रममा ट्रम्पलाई ह्वाइट हाउस परिसरबाट केही सञ्चारमाध्यमका पत्रकारलाई प्रतिबन्ध लगाउने प्रयासबारे प्रश्न गरिएको थियो। जवाफमा ट्रम्पले सञ्चारमाध्यमका केही सदस्यले आफूलाई बहिष्कार गर्ने बताएको दाबी गरे। उनले आफूलाई कहिल्यै बहिष्कार नगरिएको पनि बताएका थिए।
तर, सोमबार धेरै टेलिभिजन नेटवर्कले ट्रम्पका कार्यक्रमहरू कभर गर्न आफ्ना क्यामेरा पठाएका थिएनन्।
सीएनएनले समेत स्थानीय केबल च्यानल स्पेक्ट्रम १ बाट प्राप्त फिड प्रयोग गरेको थियो, जुन राष्ट्रपतिको सार्वजनिक उपस्थितिको प्रत्यक्ष प्रसारणका लागि असामान्य मानिन्छ।
त्यस्तै, ह्वाइट हाउसमा ट्रम्पले गरेको टिप्पणीसमेत पत्रकारहरूले प्रत्यक्ष रूपमा सुन्न नसकेको रिपोर्टमा उल्लेख गरिएको छ।
ममदानी र ट्रम्पबीच यसअघि ह्वाइट हाउसमा पनि दुई पटक भेट भइसकेको छ। पछिल्लो भेटमा न्यूयोर्कका विभिन्न विकास परियोजना तथा शहरका महत्वपूर्ण विषयमा छलफल भएको बताइएको छ।
ट्रम्पले यसअघि समर्थन जनाएका न्यूयोर्कको बहुचर्चित ‘सन्नीसाइड यार्ड’ विकास परियोजना भने अझै अघि बढ्न सकेको छैन।
फेब्रुअरीमा वासिङ्टनमा भएको भेटका क्रममा ट्रम्पले क्वीन्समा रहेको सन्नीसाइड यार्ड परियोजनालाई अगाडि बढाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। तर त्यसयता केही महिना बितिसक्दा पनि परियोजनाको ठोस प्रगति हुन सकेको छैन।
सन्नीसाइड यार्ड परियोजनाअन्तर्गत लङ आइल्याण्ड सिटीमा रहेको करिब १८० एकड क्षेत्रफलको रेल यार्ड र मर्मतसम्भार केन्द्रमाथि नयाँ संरचना निर्माण गरी करिब १२ हजार आवासीय एकाइ बनाउने योजना छ।
प्रकाशित: ६ आश्विन २०८३ १३:३० मंगलबार