अन्तर्राष्ट्रिय

परिवारको दबाबमा तीन दिनमै विवाह : नौ दिन नबित्दै पछुतो

एआई तस्बिर

चीनको झेजियाङ प्रान्तका ३२ वर्षीय गु थरका पुरुषले हतारमा गरेको विवाहबाट नौ दिनमै पछुताउनु परेको छ। अभिभावकको दबाबमा विवाह गरेका उनले तीन दिनको अवधिमा पाँच मिनेटको भिडियो कलका आधारमा जीवनसाथी रोज्ने गल्ती गरेका थिए।

उनले स्थानीय म्याचमेकिंग सेन्टरमा २०० युआन तिरेर नाम दर्ता गराएका थिए। म्याचमेकरले अन्य प्रान्तकी महिलासँग दुई दिनभित्रै विवाह हुन सक्ने वाचा गरेपछि उनको परिवार सहमत भयो। अप्रिलमा उनले शान्सी प्रान्तकी ३० वर्षीया महिलासँग भिडियो कलमा कुराकानी गरे। महिलाको प्रोफाइलमा कुनै ऋण वा आपराधिक रेकर्ड नभएको र उनी 'फ्ल्यास विवाह' गर्न तयार रहेको उल्लेख थियो। म्याचमेकरकै सहजीकरणमा ५ मिनेटको कुराकानीमै उनीहरू विवाहका लागि तयार भए।

साउथ चाइना मर्निङ पोस्टका अनुसार गुले दुलही मूल्य र म्याचमेकिंग शुल्क गरी कुल दुई लाख ६५ हजार युआन खर्च गरेका थिए। भेटघाट नै नगरी उनीहरूले विवाह दर्ता गरे। विवाहपछि म्याचमेकरले वाचा गरेअनुसार कागजातहरू उपलब्ध गराएनन्। गुले श्रीमतीको क्रेडिट हिस्ट्री जाँच गर्दा उनीमाथि एक लाख युआन ऋण रहेको थाहा पाए। श्रीमतीले त्यो ऋण आफ्नो पूर्व प्रेमीको भएको दाबी गरिन्। साथै, उनको स्वास्थ्य अवस्थाबारे पनि शंकास्पद जानकारीहरू बाहिरिए।

विवाहको नौ दिनपछि गुले सम्बन्ध विच्छेदको माग गरे। सुरुमा महिला सहमत भए पनि पछि उनले गु विरुद्ध नै मुद्दा हालिन्। उनले आफू डिप्रेसनमा रहेको दाबी गर्दै ५० हजार युआन क्षतिपूर्ति माग गरिन्। साथै, उनले गुले आफूलाई मेकअप गर्न, घरको काम गर्न र जागिर खोज्न दबाब दिएको आरोप लगाइन्। गुले भने म्याचमेकिंग सेन्टरसँग एक लाख ६० हजार युआन शुल्क फिर्ताको माग गर्दै मुद्दा दायर गरेका छन्। सेन्टरले विवाह भइसकेकाले पैसा फिर्ता नहुने बताएको छ।

यो घटनालाई लिएर सामाजिक सञ्जालमा रमाइलो बहस भइरहेको छ। एकजना प्रयोगकर्ताले भने, ‘यदि तपाईंले विवाहलाई खेल जस्तै व्यवहार गर्नुभयो भने, विवाहले तपाईंलाई पाठ सिकाउनेछ।’ अर्का प्रयोगकर्ताले भने, ‘विवाह जीवनको ठूलो निर्णय हो, मानिसहरू कसरी केही दिनको भेटघाटमै यस्तो निर्णय लिन्छन्?’ तेस्रोले भने, ‘यो कुनै छोटो नाटकको कथाभन्दा बढी हास्यास्पद छ।’

प्रकाशित: ६ असार २०८३ ११:१६ शनिबार